-ऋषि कट्टेल ।
अचेल बजारमा कम्युनिष्ट एकताबारे निकै चर्चा छ । पुष्पकमल दाहालले पटक पटक सार्वजनिक रुपमै यो कुरा निकै उठाइरहेका छन् । कम्युनिष्ट एकता नेपालमा निकै लोकपृय शब्द पनि हो । नेपालको ठूलो जनमत कम्युनिष्ट आन्दोलनको पक्षमा छ । उनीहरुलाई कम्युनिष्ट फुटेको हेर्न रुची छैन । दाहालले लोकपृयतावादको हुुरी चलेको मौका छोप्न यो शब्दजाल विछ्याएका हुन् की या संसदमा परास्त भैसकेपछि गुमेको सत्ता पुनः प्राप्तगर्ने योजनामा यो भाषा प्रयोग गरेका हुन् की वा आफ्नो नेतृत्व बचाउन वा साँच्चै अर्थमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन यी प्रश्नहरुको उत्तर भविष्यले दिँदै जाला । स्वार्थ र उद्देश्य जे भएपनि नेपालको कम्युनिष्ट आन्दोलनबारे व्यापक हस गर्नु पर्ने समय चाहिँ हो यो । एकता र फुट यो आन्दोलनभित्र निरन्तर चलिरहेकै छ । आउँदा दिनहरुमा पनि चलिरहने नै छ । किनकी क्रान्ति निरन्तर चलने प्रक्रिया हो । कुनै एउटा चक्रबाट पुरा हुँदैन ।
अब नेपालमा कम्युनिष्ट आन्दोलनको फुट र एकतावारे छोटो टिप्पणी गरौँ । नेपालको कम्युनिष्ट आन्दोलनमा फुटको मूख्य कारण वैचारिक देखिन्छ । पहिलो फुट रायमाझीको राजावादी अर्थात् सामन्तवादसँगको आत्मसमर्पण पछि भयो । माझीलाई पार्टीले गद्धार घोषणा गर्यो । माझीले आफ्नो छुट्टै गुट खडा गरे ।
दोस्रो फुट तेस्रो महाधिवेशनले अवलम्वन गरेको संशोधनवादी लाइनको विरोधमा भयो । पुष्पलालले गोरखपुर सम्मेलनमार्फत पार्टी पुनर्गठन गरेपछि तुलसीलालहरुको छुट्टै गुट वन्यो । यी दुवै फुटहरुको मुख्यकारण सैद्धान्तिक थिए । सामन्तवाद परस्त र विसर्जनवादका हिमायतीहरु एउटै पार्टीमा रहनु सम्भव पनि थिएन र औचित्य पनि थिएन ।
तेस्रो फुट नेकपा(पुष्पलाल),चौम–मोहन विक्रम) र माले (सीपी) नेतृत्वमा भयो । यी फुटहरु किनभए ? यसको सैद्धान्तिक कारण छैन । केही कार्यनीतिक प्रश्नहरुलाई लिएर यी फुटहरु भएका देखिन्छन् । यी तीनै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनीनवाद हो । क्रान्तिको कार्यक्रम नयाँजनवाद र क्रान्तिको कार्य दिशा दीर्घकालिन जनयुद्ध–सशस्त्र किसान क्रान्ति) हो । क. पुष्पलालले गोरखपुर सम्मेलनमार्फत यो विचारलाई दस्तावेजीकरण गरेका छन् । यही विचार बोकेर किन चौम र माले गठन भयो ? यसको वस्तुगत उत्तर आजसम्म नेपालको कम्युनिष्ट आन्दोलनले खोजेको छैन । नेपालको कम्युनिष्ट आन्दोलनको फुटको जग यही हो र आजसम्म नेपालको कम्युनिष्ट आन्दोलन यसैको शिकार भइरहेछ ।
लामो संघर्षपछि नेकपा र माले एकतावद्ध भए । एमाले बन्यो । यसको सैद्धान्तिक जग मुलत गोरखपुर सम्मेलन थियो । तर एमाले नेतृत्व(मदन भण्डारी) ले नयाँजनवादको कार्यक्रमलाई तोडमडोर गरेर २०१९को संशोधनवादी कार्यक्रम राष्ट्रिय जनवादलाई डेन्टिङ पेन्टिङ गरेर जबज नाम गरेको कार्यक्रम ल्याए । यो पूर्णत पूँजीवाद सँगको आत्मसमर्पण हो । साथै राष्ट्रघाती महाकाली सन्धीमा यसको संलग्नतापछि विद्रोहले औपचारिक रुप लियो । एमाले र नेपाल कम्युनिष्ट पार्टीको रुपमा यी क्रियाशील छन् ।
त्यसैगरी चौम धाराको विभाजित विभिन्न समूहहरु मिलेर माओवादी बन्यो । यो किन पुट्यो ? प्रष्ट छ यसको नेतृत्वले संशोधन्वादी विचार अर्थात जनवादको बाटो छोडेर संसदवादको बाटो अवलम्वन गरे पछि फुट्यो । अर्थात् क्रान्तिकारी पक्षले विद्रोह गर्यो ।
जहाँसम्म एमाले र माओवादी केन्द्रको एकता र फुटको प्रश्न छ यो एकता कम्युनिष्ट एकता हैन । विसर्जनवादीहरुको स्वार्थको गठजोड हो । स्वार्थ मिलुन्जेल बसे । मिलेन फुटे । यसलाई कम्युनिष्ट आन्दोलनको एकता र फुटको रुपमा विश्लेषण गर्नु जरुरी छैन । जहाँसम्म मोहनबिक्रम र रोहितको प्रश्न छ उनीहरुको न हिजो फुटको सैद्धानिक कारण छ न आजको छ । त्यसकारण यसलाई पनि फुटको कारण खोज्नु पर्ने देखिन्न ।
यसरी सारमा हेर्दा २०२५ को फुट, एमाले फुट र माओवादी केन्द्र फुटको सैद्धान्तिक कारणहरुको निरुपण नै आजको कम्युनिष्ट आन्दोलनको एकताको जग हो । विसर्जनवादको जगमा हुने एकता वा फुटले नेपालको आन्दोलनको दिशा निर्देश गर्दैन । आजको कम्युनिष्ट आन्दोलनको एकता भनेको विसर्जनवाद र क्रान्तिकारी माक्र्सवादको बीचको सैद्धान्तिक संघर्षको निचोड हो । के दाहालहरु विसर्जनवादको बर्को छोडेर अर्थात् संसदवादको गन्धा विसर्जनवादी आहालबाट बाहिर निस्कन तयार हो ? यसको प्रष्ट उत्तर नदिई एकताको राप अलाप्नुको कुनै अर्थ छैन । जनतालाई एक पटक त ढाँट्न सकिएला तर पटक पटक ढाँट्न सकिदैन भन्ने कुरा दहालहरुले समयमै बुझ्दा राम्रो हुनेछ ।
