काठमाडौँ । बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो । कार्यसूची प्रधानमन्त्री बालेन साहले गर्ने भन्दै सम्भावित कार्यसूची सार्वजनिक भएको थियो । तर प्रधानमन्त्री बिहान साढे १० बजे मन्त्रिपरिषद बैठक राखेर संसदमा उपस्थित भएनन् । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बोलाइएको थियो । प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि विपक्षी दलका सांसदले प्रधानमन्त्री विना बैठक चल्न नदिने अडान लिए । त्यसक्रममा सभामुख डीपी अर्यालले पटक पटक बैठक अघि बढाउन सहयोग गर्न विपक्षी दललाई आग्रह गरे । तर विपक्षी दलहरुको एउटै माग थियो प्रधानमन्त्रीको उपस्थिति अनिवार्य । बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच आरोपप्रत्यारोपसमेत चल्यो । पहिलो बैठक विपक्षी दलले चल्न नदिएपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरे । त्यसबीचमा विपक्षी दल र सभामुखबीच छलफल चल्यो । छलफलमा विपक्षी दल प्रस्ताव पेस गर्न दिने तर छलफल गर्न नदिने निष्कर्षमा पुगे । त्यसपछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्यो । बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्ताव पेस गरे । प्रस्ताव त पेस भयो तर विपक्षी दलले प्रधानमन्त्री विना बैठक अघि बढ्न नदिने अडान लिए । त्यसबीचमा पनि धेरै गलफत्ती भए । अन्ततः सभामुखले फेरि बैठक १५ मिनेटका लागि स्थगित गरे ।
यो बीचमा सभामुख र विपक्षी दलको बैठक बस्यो तर निकास निस्केन । फेरि सभामुखले तेस्रो पटक बैठक सुरु गरे । तर विपक्षी दलले अडान नछाडेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित भयो ।आजको बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नका जवाफ दिने कार्यसूची छ । तर प्रधानमन्त्री आउने नआउने निश्चित छैन । बालेन साहले प्रधानमन्त्री भएपछि सदनमा एकपटक पनि सम्बोधन गरेका छैनन् । विपक्षी दल मात्र नभई सत्तापक्ष र आममानिसले प्रधानमन्त्रीको सम्बोधन सुन्न चाहेका भने पक्कै छन् । सत्तापक्षका सांसदहरुले जति रफ्फू लाएपनि सत्य त्यही हो । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा पनि प्रधानमन्त्री बीचमा उठेको विषयले प्रधानमन्त्री अलोचित बन्दै आएका छन् । तर सत्तापक्ष भने त्यसलाई परम्परा तोडेको भन्दै प्रशंसा गरिरहेको छ । एकातिर राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बैठक छाडेर हिँड्ने अनि पछि छलफलमा पनि प्रधानमन्त्री नआउने भएपछि यतिबेला प्रधानमन्त्री झन् आलोचित बनेका हुन् ।
प्रधानमन्त्रीको व्यवहारप्रति रुष्ट हुँदै जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीको आवाज कसको कब्जामा छ भन्दै प्रश्न गरेकी छन् । उनले भनेकी छन्, ‘प्रधानमन्त्री बालेन्द्र साहको आवाज कसको कब्जामा छ ? हामीलाई ‘थाहा’ चाहियो ।’
त्यस्तै जेनजी अभियन्ता भावना राउतले प्रधानमन्त्रीले सदन छल्नुलाई लोकतान्त्रिक संस्कारसँग जोडेर टिप्पणी गरेकी छन् । उनी सामाजिक संजालमा लेख्छिन्, ‘प्रतिपक्ष प्रतिपक्ष जस्तो बनोस् । सरकार सरकार जस्तो बनोस् । सत्ता पक्षले जनादेशको सम्मान गरोस्, प्रतिपक्षले आफ्नो जिम्मेवारी निभाओस्। लोकतन्त्रमा दुबै पक्ष बलियो हुनु आवश्यक छ । हामी हाम्रो प्रधानमन्त्रीलाई सुन्न चाहन्छौँ। पहिलो संसदीय बैठकमा जननिर्वाचित सांसदहरूलाई बधाई दिने, निर्वाचनमा संलग्न सबैलाई धन्यवाद भन्ने एउटा सामान्य तर महत्वपूर्ण जिम्मेवारी थियो। त्यही क्षणबाट टाढा बसिनु, अनि आज नीति तथा कार्यक्रममाथि जवाफ नदिने भन्ने खबर आउँदा, अलि लोकतान्त्रिक संस्कार कमजोर भएको हो कि भन्ने अनुभूति भइरहेको छ । लोकतन्त्र केवल व्यवस्था होइन, व्यवहार पनि हो। प्रणाली बदल्ने कुरा गर्नेहरूले प्रणालीका संस्थाहरूलाई सम्मान गर्न झन् धेरै जिम्मेवार हुनुपर्छ। आखिर, सधैँ ‘एन्टी–सिस्टम’ भएर बस्न सकिँदैन किनकि एकपटक सत्ता सम्हालेपछि, केवल विद्रोही भएर मात्र पुग्दैन; लोकतान्त्रिक संस्कार जोगाउने जिम्मेवारी पनि आउँछ । लोकतन्त्रको साख संस्था, संवाद र जवाफदेहिताले जोगिन्छ। आशा छ, सबै पक्षले त्यसको मर्यादा राख्नेछन्।‘
जस्मिन ओझाले संसदलाई वेवास्ता गर्दा पनि लोकतन्त्र मर्ने बताएकी छन् । उनी लेख्छिन्र्, ‘लोकतन्त्र गोलीले मात्र मर्दैन, संसदलाई बेवास्ता गर्दा पनि मर्छ । प्रश्नहरू लाईभ छन्, तर प्रधानमन्त्रीको उत्तर अझै अफलाईन छ ।’
सुरेश बडालले सामाजिक संजालमार्फत क्याबिनेट र गोप्य कोठाका छलफल, कार्यकारी आदेशमा हस्ताक्षर इत्यादि मात्र प्रधानमन्त्रीको काम नभएको भन्दै संसदको छलफलमा भाग लिनु, रोष्ट्रममा उभिएर जनप्रतिनिधिको प्रश्नको जवाफ दिनु अझ ठूलो काम भएको टिप्पणी गरेका छन् ।
उनी लेख्छन्, ‘काम गरे भैगो नि, किन बोल्नु पर्यो’ भनेको सुनिन्छ। पसिनाले निथ्रुक्क भिज्नेगरी कोदालो खन्ने मात्र काम होइन। नत्र बेल्चा हान्ने हर्क साम्पाङ अहिले संसदमा किन बोल्न आउँथे ? उनका लागि त अहिले यहि नै सबैभन्दा ठूलो काम हो। रेडियोमा बोल्नु, टीभीमा समाचार भन्नू, व्यासमा बसेर पुराण भन्नू सबै काम नै हो। क्याबिनेट र गोप्य कोठाका छलफल, कार्यकारी आदेशमा हस्ताक्षर इत्यादि मात्र प्रधानमन्त्रीको काम होइन। संसदको छलफलमा भाग लिनु, रोष्ट्रममा उभिएर जनप्रतिनिधिको प्रश्नको जवाफ दिनु झन् ठूलो काम हो। राणा प्रधानमन्त्रीहरू त दरबार लगाएर कुरा सुन्थे, टुँडिखेलको खरीको बोटमा आएर भाषण गर्थे । यतिका जनताले मन पराएका प्रधानमन्त्रीले किन डराउनु, किन धकाउनु ? बरू मैथिलीमै बोले भो, बुझ्नेले बुझ्छन्, नबुझ्ने वाल्ल पर्छन् ! सक्किगो !’
सामाजिक संजालमा नारायण पौडेलले नबोल्ने राष्ट्रपतिको प्रसंग उल्लेख गर्दै लेखेका छन्, ‘अमेरिकाका ३० औं राष्ट्रपति क्याल्भिन कुलिज मौन क्याल (साइलेन्स क्याल) उपनामले चिनिन्छन् । उनी कम बोल्थे । मस्त सुत्थे । अति आवश्यकबाहेक विरलै भेटघाट गर्थे । सवालजवाफ गर्नै परेपनि टुच्च दिन्थे । मैले तपाईंलाई ३ शब्दभन्दा बढी बोलाउन सक्छु भनि बाजी थापेकी छु, तपाई के भन्नुहुन्छ भनि एक महिला पत्रकारले प्रश्न गरिन् । उनले २ शब्दमा उत्तर दिए–तिमीले हार्यौ (यु लुज) । बहालवाला राष्ट्रपतिको निधन भएपछि मेयर पृष्ठभूमीका उपराष्ट्रपति कुलिज राष्ट्रपति बनेका थिए । पछि उनी राष्ट्रपति पनि निर्वाचित भए । राष्ट्रपतिको अर्को निर्वाचनमा उनी प्रतिष्पर्धा गर्छन् कि गर्दैनन् भन्ने व्यापक चासो थियो । एक दिन उनले पत्रकारहरुलाई चिर्कटो थमाए । त्यसमा एक लाइन लेखिएको थियो–म चुनाव लड्दिन । एकदमै कम बोलेर मौन क्यालको उपनाम पाएपनि उनले संसदलाई भने छोटो संबोधन गर्थे । उनका बारे इतिहासकार विभाजित छन् । कसैका नजरमा उनी आर्थिक सुधारक हुन्, कसैका नजरमा भने ग्रेट डिप्रेसनका कारक । जेसुकै भएपनि कमै बोल्ने राष्ट्राध्यक्षका रुपमा इतिहासमा सम्झिइन्छन् ।’
