राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्नेमा जोड

गण्डकी । संविधान गतिशील राजनीतिक दस्तावेज रहेको भन्दै वक्ताहरुले राष्ट्र र जनताको हितलाई केन्द्रमा केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय जनमोर्चा, जिल्ला समिति कास्कीद्वारा आज  पोखरामा आयोजित ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रिया कार्यक्रममा आवश्यकता र औचित्यका आधारमा संविधानलाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिइएको हो । उक्त शीर्षकमा अवधारणापत्र प्रस्तुत गर्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले राजनीतिक र जनस्तरमा बहृत् छलफल गरेर मात्र संविधान संशोधनका विषयलाई अगाडि बढाउनुपर्ने बताए ।

“संविधान संशोधन जटिल तथा जोखिमपूर्ण तर मुलुकका लागि अत्यावश्यक प्रक्रिया हो”, उनले भने, “संविधान संशोधनको उठान र अवतरण सही ढङ्गबाट हुन जरुरी छ ।” मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाको प्रश्न तथा गणतन्त्रको सुदृढीकरणको विषयलाई केन्द्रमा राखेर संविधान संशोधनको विषयलाई अगाडि बढाउनुपर्ने उपाध्यक्ष पौडेलले बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले गणतन्त्र, सङ्घीयताजस्ता राजनीतिक उपलब्धीलाई थप बलियो र सुदृढ बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । संविधान संशोधन गर्दा आवश्यकता र औचित्य पुष्टि हुनुपर्ने उनको भनाइ थियो ।

“राष्ट्रिय एकता र सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्छ, राष्ट्र र जनताको बृहत्तर हितलाई केन्द्रमा राख्नुपर्छ”, सभापति शर्माले भने ।

नागरिक समाजका प्रतिनिधि विष्णु बरालले जडता र यथास्थितिवादी ढङ्गबाट मुलुक तथा जनताको आकङ्क्षा पूरा नहुने भन्दै समयसोपक्ष रुपमा संविधानलाई परिमार्जन गर्नुपर्ने धारणा राखे । संविधान कार्यान्वयनका क्रममा विगतमा राजनीतिक दलहरुबाट देखिएको अक्षमता र कमजोरीलाई स्वीकार गर्दै त्यसलाई सुधार्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा (एमाले) का नेता राजीव पहारी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता श्रीनाथ बराल, नेपाल कम्युनिष्ट पार्टीकी नेतृ सावित्री बुढालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *