हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग नगर्न इरानलाई कतारको आग्रह

दोहा । मध्यपूर्वमा युद्ध सुरु भएदेखि नै अवरुद्ध रहेको ‘स्ट्रेट अफ होर्मुज’ लाई खाडी मुलुकहरूलाई दबाब दिने वा ब्ल्याकमेल गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने कतारले बताएको छ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले मङ्गलबार दोहामा टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको संयुक्त पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन्।

इरान र अमेरिकाबीचको वार्तामा मध्यस्थकर्ताको भूमिकामा देखिएका प्रधानमन्त्री थानीले इरानले खाडी देशहरूलाई दबाब दिन यो स्ट्रेटलाई हतियारको रूपमा प्रयोग गर्न नहुने स्पष्ट पारे। स्ट्रेट अफ होर्मुजको नाकाबन्दीले विश्वको तेल र प्राकृतिक ग्यासको करिब पाँच भागको एक भाग ढुवानीलाई प्रभावित पारेको छ। यसले ऊर्जाका क्षेत्रमा धनी खाडी मुलुकहरूको समुद्री निर्यात रोकिँदा उनीहरूको अर्थव्यवस्थामा समेत ठूलो तनाव सिर्जना भएको छ।

पत्रकार सम्मेलनमा टर्कीका विदेश मन्त्री फिदानले कतारको भनाइप्रति समर्थन जनाउँदै अन्तर्राष्ट्रिय जलमार्ग अवरोध हुँदा यसको प्रभाव निर्दोष र इरानका समर्थक राष्ट्रहरूले समेत भोग्नुपरेको बताए। तेहरानले आफूमाथि युद्ध थोपरिएपछि अमेरिकी सम्पत्तिका साथै नागरिक पूर्वाधार, विमानस्थल र ऊर्जा सुविधाहरूलाई पनि निशाना बनाएको छ।

शान्ति वार्तामा कतारको बढ्दो भूमिकाबारे चर्चा गर्दै प्रधानमन्त्री शेख मोहम्मदले आफ्नो हालैको अमेरिका भ्रमण युद्ध अन्त्यका लागि मध्यस्थताको प्रयासलाई बलियो बनाउन केन्द्रित रहेको जानकारी दिए। उनले यो भ्रमण मुख्य रूपमा पाकिस्तानी कूटनीतिक प्रयासहरूलाई समर्थन गर्ने र चाँडो भन्दा चाँडो सकारात्मक समाधान निकाल्ने दिशामा केन्द्रित रहेको बताए। टर्कीका विदेश मन्त्री फिदानले पनि अङ्कारा, कतार र साउदी अरब जारी वार्ताको सम्बन्धमा युएई र कुवेत लगायतका खाडी देशहरूसँग निकट सम्पर्कमा रहेको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *