अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २७ जना घाइते भएका छन् ।
सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिए ।
घटनामा मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१९ बस्ने ७८ वर्षीया राममाया बस्नेत, ७८ वर्षीया विन्दु कुँवर, पर्वत जिल्लाको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी र मोदी गाउँपालिका–५ का बसचालक ४५ वर्षीय रमेश जिसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिए ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अर्घाखाँची अस्पतालका घाइते पनि उपचारका लागि भैरहवा मेडिकल कलेज पठइएको छ ।
घटनामा अधिकांश मोदी गाउँपालिका पर्वतका मानिसहरू परेको प्रहरीको भनाइ छ ।
सुपा देउराली दर्शन गरी पर्वत फर्किदै गरेको पर्वतको ध१ख ५०४ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसीले जानकारी दिए ।
प्रारम्भिक जानकारीअनुसार गाडीको ‘ब्रेक फेल’ भएर दुर्घटना भएको र बस सडकबाट जङ्गलमा लगभग १०० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रमुख जिसीको कमान्डमा खटिएको प्रहरीको टोली र स्थानीयले उद्धार गरेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले जानकारी दिए ।
