काठमाडौं । सरकारले सातामा दुई दिने बिदाको निर्णयलाई ध्यानमा राखेर विद्यालयमा हिउँदे र वर्षे बिदा घटाउन परिपत्र गरेको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले मंगलबार सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई बिदा घटाउन परिपत्र गरेको हो ।
केन्द्रका निर्देशक डा.श्यामप्रसाद आचार्य पठाएको पत्रमा शिक्षण संस्थामा शनिबार र आइतबारको बिदा दिन भनिएको छ । दुई दिने बिदाले गर्दा पाठ्यक्रमले तोकेअनुसारको कार्यघण्टालाई असर नपर्ने गरी अन्य व्यवस्था गर्न ६ बुँदे निर्देशन दिइएको छ। परिपत्रमा प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्न भनिएको छ ।
त्यस्तै, सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न भनिएको छ। यससँगै हिउँदे र बर्से बिदाको अवधि ३० दिन कायम गर्न पत्राचार गरिएको छ । यसअघि हिउँदे र बर्से बिदा ४५ दिन हुने गरेको थियो।

