काठमाडौँ । नेकपा एमालेकी सांसद पद्मा अर्यालले लोकतन्त्रको नाममा सरकारले तानाशाह जन्माउन खोजेको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले कार्यपालिकाको स्वेच्चारितना नसहने बताइन् ।
उनले स्वतन्त्र न्यायपालिकाको घाँटी निमोठ्ने काम सरकारले गरेको भन्दै आपत्ति जनाइन् । उनले भनिन्, ‘यो लोकतन्त्र होइन नियन्त्रित तनाशाह जन्माउने खेल हो । कार्यपालिकाको स्वेच्छाचारिता बन्द गरियोस् । हिजो अरूले अध्यादेश ल्याउँदा विरोध गर्नेले अहिले कसरी अध्यादेश ल्याउन सकेको ? निर्लज्ज भएर नयाँ सोच भनेको संसद्लाई पन्छाएर कार्यपालिकाको स्वेच्छारिता लाद्नु हो।’
उनले प्रधानन्यायाधीश सिफारिस प्रक्रियाले स्थापित मान्यतालाई धज्जी उडाएको आरोप लगाइन् । सांसद अर्यालले सत्ताको उन्माद क्षणिक हुने तर विधिको शासन दिगो हुनुपर्नेमा जोड दिँदै तत्काल सबै अध्यादेश खारेज गर्न माग गरिन्।
