काठमाडौं । कोरोना महामारीले सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्बले घटेको छ । यसले पूँजी बजार धेरै जसो ओरालो लाग्दा सेयर बजारको पुँजीकरण १० महिनामा नराम्ररी प्रभावित भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचकसँगै पुँजीकरणसमेत घटेको छ । २०७६ असार मसान्तमा १५ खर्ब ६७ अर्ब ५० करोड रहेको बजार पुँजीकरण चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्म घटेर १५ खर्ब ३६ अर्ब ४२ करोडमा घटेर कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
उता नेप्से परिसूचक पनि यस अवधिमा करिब ५८ अंकले घटेको छ । २०७६ असार मसान्तमा १ हजार २ सय ५९ रहेको नेप्से परिसूचक वैशाख मसान्तमा घटेर १ हजार २ सय १ दशमलव ५९ अंकमा झरेको बताइएको छ ।
वार्षिक विन्दुगत आधारमा हेर्ने हो भने नेप्से परिसूचक १ सय ४ अंकले घटेको छ । हाल १ हजार २ सय १ दशमलव ५९ अंकमा रहेको नेप्से परिसूचक २०७६ बैशाख मसान्तमा १ हजार ३ सय १५ दशमलव ५ विन्दु रहेको थियो। कोरोना महामारीले यस वर्ष आर्थिक गतिविधी चौपट हुने देखिएको छ ।