-ऋषि कट्टेल ।
‘बालेनले खायो खायो अब २० औँ वर्ष शासन गर्छ’ अचेल समाजिक सञ्जालमा, चिया पसलहरुमा वा मानिसहरु जमघट भएर गफ गर्ने ठाउँहरुमा यस्ता कुरा निकै सुनिन्छ । सरकारमा आउने परिवर्तनसँगै केही समय यस्ता कुराहरुले निकै बजार पाउँछ । यसमा उनीहरुको तर्क सुनिन्छ भाद्र २४ र फागुन २१ ले पुराना भनिएका दलहरुलाई कहिल्यै उठ्न नसक्ने गरि थलापारेको छ र यसको विकल्पमा अर्को शक्ति तयार छैन । प्रवल जनमतवाट निर्वाचित भएको छ । सूचना प्रविधिमा राम्रो पहुँच भएका पढेलेखेका युवाहरुको जमघट छ । विदेशमा बस्ने नेपालीहरुको यसलाई साथ छ । यसलाई सेनाको पूरा साथ छ । अझै अगाडी बढेर मानिसहरु भन्छन्-यसलाई चर्चित महाशक्ति राष्ट्रको पनि समर्थन छ । एकथरी बिक्रिका वुद्धिजीविहरुको पनि ठूलो समर्थन छ ।आदि आदि । त्यसकारण बालेन सरकारलाई हल्लाउने तागत कसैसँग छैन ।
हाम्रो देशका धेरै मानिसहरु सामन्ती संस्कृतिबाट ग्रसित छन् । सामन्ती संस्कृति भनेको शक्तिपुजक संस्कृति हो । राजा महाराजाहरुलाई भगवानको औतार मान्ने, ढुंगालाई अविर छरेर भगवान मान्ने, अलौकिक शक्तिमा विश्वास गर्ने र त्यसैसँग डराउने अन्ध विश्वास र रुढीवादलाई सत्य ठान्ने मानिसहरुको अत्यधिक संख्या भएको देशमा शैतानको रुपमा प्रकट भएको, सिंहदरबारहरु भष्म गर्ने सक्ने, एमाले, माओवादी, कांग्रेसहरु जस्ता मैमत्तहरुलाई समेत ठेगान लगाउने बालेनको स्तुती गाउनु र डराउनुलाई अन्यथा पनि भन्न मिलेन । त्यसैले मानिसहरु बालेनको लिलालाई अपरम्पार भनिरहेका छन् र बालेन पनि यदायदाही धर्मस्य….जस्ता वाणीहरु राखेर साक्षात् विष्णुको रुपमा आफूलाई प्रस्तुत गरिरहेछन् र हुकुम जारी गरिरहेछन् । प्रभुको लिला भन्दै एउटा झुण्ड वा वा भन्दै स्तुती गाइरहेछन् ।
तर वस्तुगत अवस्था भने बेग्लैछ । २०४६ पछिको मात्र कुरा गर्नेहो भने यस्ता वा वा धेरैपटक भए । कांग्रेसले प्रचण्ड बहुमत ल्यायो मानिसहरुले कांग्रेसमात्रै देखे । २०५१ मै के भयो ? ५८ मा ज्ञानेन्द्रले सत्ताहातमा लिएपछि त अब महेन्द्रले जसरी शासन गर्छन् भन्दै राजनीतिक मान्छे समेत दौडिए । अरु त अरु वामपन्थी आन्दोलनवाट विकास भएका राधाकृष्ण मैनाली, देवी ओझा, कमल चौलागाईँहरु समेत कुदे । ज्ञानेन्द्रसँगै यिनीहरुको राजनीतिक जीवन पनि सकियो । मेरा मित्र देवी ओझालाई यो बाटोमा नजान भनेको मलाई अहिले पनि राम्रो सम्झनाछ । मन्त्री बनेका आरकेलाई तिम्रो राजा सकिँदैछन् तिमी फस्यौ भन्दा जिव्रो लेब्राएको सम्झना ताजै छ । ६४ मा माओवादीको त झनै कुरै छोडौं । निजी सेना र हतियार समेत भएको सरकार । ७४ मा एमाले र माओवादी मिले ५० वर्ष शासन गर्ने घोषणा नै भयो । आज बालेनको फेरि त्यस्तै प्रचार गरिँदैछ । यो प्रचार वस्तुगत छैन । केवल त्यही सामन्ती संस्कृतिको उपजमात्र हो । बालेन सरकारको पतनको विउ उम्रिसकेको छ । अर्थात अन्तरविरोधहरुले आकार ग्रहण गरिसकेकोछ ।
