काठमाडौँ । नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको छ । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठकलाई प्रदान गरियो ।
त्यस्तै, ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा. भीमार्जुन आचार्य र निर्वाणसिं गुरुङलाई प्रदान गरिएको जनाइएको छ ।
साथै ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बू, सरिता शाही, चाँद सिं, महेश्वरमान राजभण्डारीलाई प्रदान गरिएको छ भने ‘नातिकाजी नव प्रतिभा पुरस्कार’ पाउनेमा विपना तामाङ्, सहिमा श्रेष्ठ, सुरेश लामा छन् ।
नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार प्रमोद उपाध्यायले प्राप्त गरेका नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बासकोटाले जानकारी दिए ।
उनका अनुसार ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ अनन्त वाग्ले र गीता अधिकारीले प्राप्त गरेका छन् ।
अध्यक्ष बासकोटाले नातिकाजीले सङ्गीतलाई केवल मनोरञ्जनको साधनका रूपमा मात्रै नभएर सामाजिक चेतना जगाउने शक्तिशाली माध्यमका रूपमा प्रयोग गरेका उल्लेख गरे । ‘उहाँका गीतमा देशप्रेम, संस्कृतिप्रेम, मानवीय संवेदना र जीवन दर्शनको अद्भूत संयोजन पाइन्छ, उहाँको योगदानले नेपाली सङ्गीतलाई उच्च स्थानमा पुराएको छ,’ अध्यक्ष बास्कोटाले भने ।
