मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो

सियोल । दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलले लागू गरेको विवादास्पद मार्सल ल प्रकरणसँग सम्बन्धित मुद्दामा पूर्वप्रधानमन्त्री हान डक–सूमाथि सुनाइएको जेल सजाय उच्च अदालतले घटाएको छ । अदालतले विद्रोहमा संलग्न भएको आरोपलाई भने यथावत् कायम राख्दै उहाँको कैद सजाय २३ वर्षबाट घटाएर १५ वर्ष पुर्‍याएको हो ।

सियोल उच्च अदालतले बिहीबार सुनाएको फैसलामा हानले तत्कालीन राष्ट्रपति युनका अवैध कदमलाई वैधानिकता दिन सक्रिय भूमिका खेलेको निष्कर्ष निकालिएको छ ।

अदालतका अनुसार मन्त्रिपरिषद् बैठकमार्फत मार्सल ल अनुमोदन गराउने प्रक्रिया अघि बढाउनु तथा प्रमुख सञ्चार संस्थाहरूको पानी र बिजुली काट्ने योजनामाथि छलफल गर्नु राज्यविरुद्धको असंवैधानिक कदमलाई संस्थागत रूप दिन गरिएको प्रयास थियो ।

अदालतले हानमाथि लगाइएका अन्य आरोपहरू पनि पुष्टि गरेको छ । मार्सल ल घोषणासम्बन्धी दस्तावेज झुठो बनाएको, प्रमाण नष्ट गरेको तथा अदालतमा शपथपूर्वक झूट बोलेको आरोपमा उनी दोषी ठहर भएका छन् ।

सियोल उच्च अदालतले आफ्नो फैसलामा हानको भूमिका अत्यन्त गम्भीर रहेको उल्लेख गरेको छ । अदालतले युन प्रशासनमा दोस्रो वरियताका अधिकारी रहेका हानले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्नुको सट्टा विद्रोहमा सहभागिता जनाएको टिप्पणी गरेको छ । अदालतले ‘राष्ट्रप्रति भएको जिम्मेवारी त्यागेर असंवैधानिक कदमलाई सहयोग गर्नु गम्भीर अपराध’ भएको जनाएको छ ।

यसअघि जनवरीमा सियोलको एक जिल्ला अदालतले हानलाई २३ वर्ष जेल सजाय सुनाएको थियो । त्यसको एक महिनापछि तत्कालीन राष्ट्रपति युन सुक योललाई पनि विद्रोहको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो । युनद्वारा नियुक्त प्रधानमन्त्री हानमाथि युनको सत्ता टिकाउन असंवैधानिक कदममा सहकार्य गरेको आरोप लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *