काठमाडौं । संघीय संसद्का सदस्यहरूको प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकको विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक (जैविक) विवरण लिन थालिएको छ ।
दुवै सभाका बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखमा राख्न जैविक विवरण प्रदान गर्न संसद् सचिवालले सांसदहरूलाई अनुरोध गरेको थियो ।
सचिवालयले बिहीबारदेखि यही २८ वैशाखसम्म सांसदहरूलाई सिंहदरबारस्थित विभिन्न समितिको कार्यालयमा उपस्थित भई जैविक विवरण प्रदान गर्न आग्रह गरेको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विगतमा नयाँ बनेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा प्रबन्ध गरिएको हाजिरी जेन-जी आन्दोलनमा नष्ट भएकाले पुनः विवरण दिन सांसदहरूलाई अनुरोध गरिएको बताए ।
उनले पहिलो चरणमा सभाका बैठकहरूका लागि विद्युतीय हाजिरीबाट अभिलेख गरिने र क्रमशः समितिका बैठकहरूको विद्युतीय हाजिरी व्यवस्थापन गरिने जानकारी दिए । यही २८ वैशाख अपराह्न २:०० बजेदेखि दुवै सदनका बैठक हुँदैछन् ।


