काठमाडौँ । नेपाली सेनाको समन्वयमा सञ्चालित अभ्यास हातेमालो आठौँ संस्करण सम्पन्न भएको छ । विपद् व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क अभिवृद्धि गरी विपद् प्रतिकार्य क्षमतालाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ तीन दिन अभ्यास सञ्चालन भएको थियो ।
समापनका अवसरमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले अभ्यासका क्रममा विषय विज्ञ तथा सरोकारवालाबाट भएका प्रस्तुतीकरणबाट लक्षित उद्देश्य हासिल हुने विश्वास व्यक्त गरे ।
उनले कार्यक्रमले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सहयोग, समन्वय र सहकार्यमा मद्दत पुग्ने धारणा राखेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । वर्षायाममा हुनसक्ने विपद्का परिदृश्यमा आधारित रही सञ्चालन भएको तीन दिवसीय अभ्यासमा रक्षा मन्त्रालय, गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारी सहभागी थिए ।
नेपाली सेनाका रथीवृन्द, मन्त्रालय, सरकारी निकाय, स्थानीय पालिका र राष्ट्रिय तथा नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिलगायतका सरोकारवाला निकायहरूका प्रतिनिधिको समेत अभ्यासमा सहभागिता रहेको निर्देशनालयले जनाएको छ ।
