नागरिक डराए परिणाम राम्रो नहुने भुसालको चेतावनी

काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सुकुम्बासी बस्तीमा डोजर चलाइएकोमा आपत्ति जनाएका छन् । बुधबार माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी भुसालले सुकुम्बासी बस्तीमा गरिएको कारबाही ठूलो अत्याचार भएको बताएका हुन् । उनले सरकारलाई आफ्ना कमजोरी सुधार्न आग्रह गरे ।

भुसालले मुलुकको आकांक्षा लोकतान्त्रिक स्थिरतासहित समृद्धि भएको बताउँदै विगतमा बनेका बहुमतका सरकारहरू अपेक्षाअनुसार सफल हुन नसकेको टिप्पणी गरे । उनले वर्तमान सरकार सफल होस् भन्ने जनचाहना रहेको उल्लेख गर्दै सरकार बनेको छोटो समयमै भएका गतिविधिले नागरिकलाई चिन्तित बनाएको बताए ।

उनले भने, ‘नेपाल राष्ट्रको आकांक्षा भनेको लोकतान्त्रिक स्थिरताका साथ मुलुकले समृद्धि खोजेको छ । एकपछि अर्को सरकार आएका छन् र बहुमतका बलिया सरकार पनि आएका छन् । हामीले ती सरकारहरु बेहोरेका छौं, ती सरकारहरुले सफलताका साथ काम गरेनन् र तिनीहरु गए । सरकार बनेको डेढ महिना नै नहुँदै जे जस्ता गतिविधि भएका छन् यसले नेपाली नागरिकलाई झस्काएको छ। जब नागरिक सरकारसँग डराउँछन् तब त्यसको परिणाम राम्रो हुँदैन । यो सरकारले आफ्ना कमजोरीहरु सुधारोस् भन्नका लागि पनि हामीले ध्यानाकर्षण गराएका हौं । यो सरकारले सुकुम्बासी बस्तीमाथि जुन व्यवहार गर्यो यो ठूलो अत्याचार हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *