देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलद्वारा थप कागजात माग

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन(इन्टरपोल) ले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्न अस्वीकार गरेको छ ।

नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरोले रेडकर्नर नोटिस जारी गर्न केही समय अघि पत्राचार गरेकामा इन्टरपोलले थप कागजपत्र मागेको हो । पक्राउ पुर्जी जारी गरेको जानकारीका आधारमा मात्र रेडकर्नर नोटिस जारी गर्न नमिल्ने जवाफ इन्टरपोलले फर्काएको एनसीबीका उच्च अधिकारीले बताएका छन् ।

पक्राउ पुर्जीका आधारमा मात्रै रेडकर्नर नोटिस जारी गर्न नमिल्ने भन्दै इन्टरपोलले थप कागजात मागेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीविरुद्ध चैत २४ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । उनीहरु अहिले उपचारका लागि हङकङमा छन् ।

पक्राउ पुर्जी जारी भएपछि देउवाले विज्ञप्ति जारी गरी सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा रहेको र आफ्नो सम्पत्तिको विवरण सार्वजनिक पदमा रहँदा सरकारी निकायमा पेस गरेको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *