आफ्नो घर र कार्यालयहरूमा छापा मारेकोप्रति मुख्यमन्त्री बानियाँको आपत्ति

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर र कार्यालयहरूमा छापा मारेकोप्रति आपत्ति जनाएका छन् । सोमबार विज्ञप्ति जारी गरी मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने अवस्थामा छापा मारिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘आज मिति २०८३ साल वैशाख २१ गतेका दिन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौँस्थित मेरो घर एवं विगतमा म समेत संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । म बागमती प्रदेशको मुख्यमन्त्री भएपछि मेरो प्रमुख प्राथमिकता नै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाजको निर्माण रहेको सबैलाई जानकारी नै छ । सोही अनुसार मैले बागमती प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक तीन तहको सरकारमध्ये प्रदेश सरकारको सरकार प्रमुख मुख्यमन्त्री हो । राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु । तर विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्र माथि आघात पुगेको महसुस भएको छ। राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् गरिएको छापामारी प्रति आपत्ति जनाउँदछु ।’

उनले संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने जनाएका छन् । उनले भनेका छन्, ‘राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले पुनः स्पष्ट पार्न चाहन्छु कि संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छापामारीबाट बागमती प्रदेश बासी एवम् मेरा शुभेच्छुक र शुभचिन्तकलाई भ्रमित र चिन्तित नहुन अनुरोध गर्दछु । म यहाँहरूको सेवामा सधैँ तत्पर रहनेछु ।’

उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार उनको हेटौंडास्थित घर र व्यवसाय एवं काठमाडौंको नक्साल र सुन्धारामा रहेको कार्यालयमा छापा मारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *