सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर्न सरकारलाई सात पूर्वराजदूतको आग्रह

काठमाडौँ । चीनका लागि नेपालका सात जना पूर्वराजदूतहरूले सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका छन् । चीनका लागि नेपालका पूर्वराजदूतहरु राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टङ्क कार्की, महेश मास्के, लीलामणि पौडेल, बिष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त वक्तव्य जारी गरी लिपुलेक नेपालको अभिन्न भू–भाग भएको हुँदा मित्र राष्ट्र चीन र भारत नेपालको सार्वभौमिकता प्रति संवेदनशील हुने विश्वास व्यक्त गर्दै सरकारले जारी गरेको वक्तव्यको सराहना गरेका हुन् । उनीहरुले यसका लागि कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘विश्वको दोश्रो ठूलो आर्थिक महाशक्ति चीन हाम्रो सिमाना जोडिएको र हामी प्रति गहिरो सद्भावना राख्ने देश हो. नेपालको वर्तमान चुनौतीहरुलाइ मनन गर्दै चीन र नेपालले सामाजिक आर्थिक विकासमा पहिलेको भन्दा अझ बढी पारस्परिक सहयोग गर्दै विकास परियोजनाहरुलाई तदारुकता साथ पूरा गर्न अग्रसर हुनुपर्छ र सरकारी स्तरमा मात्र होइन जनस्तरमा पनि आपसी सहयोगलाई सुदृढ गर्नु पर्छ भन्ने निष्कर्षमा हामी सबैको सहमति थियो । लिपुलेक कालापानी र लिपियाधुरा नेपालको अभिन्न भूभाग भएको हुँदा मित्र राष्ट्र चीन र भारत नेपालको सार्वभौमिकता प्रति संवेदनशिल हुने विश्वास व्यक्त गर्दै र नेपाल सरकारले जारी गरेको वक्तव्य को सराह्नना गर्दै आफ्नो सार्वभौम सीमा रक्षाकालागि अविलम्व कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण समेत गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *