ओस्लो । सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि २८७ जनाको नाम सिफारिस गरिने भएको छ । नयाँ सिफारिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि समावेश भए नभएको अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।
नर्वेको नोबेल कमिटीका सचिव क्रिस्टियन बर्ग हार्पविकनले भने, ‘यस वर्षको मनोनयनमा २०८ व्यक्ति र ७९ संस्थाहरू समावेश छन्।’
उनले गत वर्षको तुलनामा यो पटक धेरै नयाँ नाम रहेको पनि जानकारी दिए । उनले सिफरिसमा अमेरिकी राष्ट्रपति ट्रम्पको नाम समावेश भएको भन्ने बिषयमा कुनै टिप्पणी गरेका छैनन् ।
‘म अहिले यो काममा नयाँ छु,’ जनवरी २०२५ मा सचिव नियुक्त भएका हार्पविकनले भने । उनले भने, ‘मलाई अचम्म लागेको कुरा यो हो कि यो सूची वर्षैपिच्छे कति धेरै परिवर्तन भएको छ। विश्वभरि बढ्दो द्वन्द्व र अन्तर्राष्ट्रिय सहयोगको दबाबका बाबजुद पनि यो पुरस्कार आज पनि सान्दर्भिक छ ।’
उनले भने, ‘हामी बाँचिरहेको समयमा शान्ति पुरस्कार अझ महत्त्वपूर्ण हुन्छ। पहिले जस्तै र अहिले अझ बढी राम्रो काम भइरहेको छ ।’
