काठमाडौँ । पूर्वशिक्षामन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनले सरकारले ल्याउन लागेको अध्यादेशकोबारेमा विरोध नगर्न आग्रह गरेका छन् । विपक्षी दल तथा विभिन्न क्षेत्रबाट अध्यादेशको विरोध भइरहेका बेला पुनले भने अध्यादेशको पक्षमा बोलेका हुन् ।
उनले सरकारलाई काम गर्न दिन र किचकिच नगर्न आग्रह गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ । कुविद्वान्हरूले किचकिच नगरौँ । मैले धेरै वर्षअगाडिदेखि जनतालाई फाइदा हुने कामहरू गर्न खोज्दा मन्त्रालयले ऐन कानुन छैन भनेर अलमल्यायाउँदा धेरै दुःख पाएको भुक्तभोगी म हुँ । जेनजी आन्दोलनपछि शिक्षामन्त्री हुँदा मैले गर्न खोजेको धेरै कामहरू ऐन–कानुन देखाएर नै कर्मचारीहरूले अगाडि बढाउन दिएनन्। साथै मैले ल्याउन खोजेको तीनवटा अध्यादेशहरू ल्याउन धेरै प्रयासका बाबजुद पनि सफल हुन दिएनन् । अनि चुनाव लडेर सांसद भएको हो नि। कुरा बुझ्नु भो?’
