नारायण पौडेल ।
मेकियाभेलीले सयौं बर्ष पहिले भनेका थिए– मान्छेले बाउ मार्नेलाई माफ गर्न सक्छ तर बाउको सम्पत्ति खाइदिनेसँग पुस्तौंसम्म ईख राख्छ । चुनाव ताका कम बोलेका बालेनले बोलेको मध्येको मुख्य सन्दर्भ हो– सुकुम्वासी । उनले खुलेरै भनेका थिए– सुकुम्वासीका नाममा राजनीति धेरै भएको छ, यो बन्द गर्नुपर्छ । मेयर हुँदा पनि उनको जोडबल सुकुम्वासी बस्तीमै देखिन्थ्यो । प्रचण्डको एउटा फेसबुक स्टाटसमा बालेनले कमेण्ट गरेका थिए– प्रधानमन्त्री हुँदा मात्र एक दिन मलाई दिनु दिएको भए काठमाडौँका नदीको मुहार फेरिदिन्थें ।
चुनावी परिणाम बालेन अनुकुल आयो भने सुकुम्बासी बस्ती उठाइनेछ भन्ने विविदै थियो । काठमाडौँमा घण्टीले क्लिन स्विप गरिदियो । यस हिसाबले हेर्दा बालेनको योजना जनताद्वारा अनुमोदित रह्यो । बालेनले नयाँ केही गरेका होइनन् । जे भने, त्यही गरे ।
प्रधानमन्त्री भएपछि बालेनका सामू सयौं प्रथामिकता थिए । उनले काठमाडौँका सुकुम्बासीलाई नै मुख्य प्रथामिकतामा किन राखे ? के यो तत्कालै नगरि नहुने सवाल थियो ? पहिला बस्ती उठाउने, त्यसपछि पहिचान गर्नुपर्ने खालकै टड्कारो थियो ?
यो प्रश्नको उत्तर खोज्न म्याकियाभेलीले चित्रित गरेको मनोविज्ञानतर्फ फर्कनुपर्ने हुन्छ । बालेनको जमिन मधेशमा अतिक्रमित छ । सम्मानार्थ भन्ने हो भने उनको जमिन कसैलाई भोगचलन गर्न दिइएको छ । मेरो बाउको जमिन अर्काले किन भोगचलन गर्यो ? बाल्यकालदेखि सुनेको वा देखेको वा मनमनै गुनेको सवालले उनलाई प्रभावित गरेकै थियो । सुकुम्बासीभन्दा हुकुमबासी शब्दबाट उनी बढी उद्वेलित देखिन्छन् । उनको एक्सन हेर्दा – हुकुम्बासीको हावा खुस्काइदिनेजस्तो मनोभावबाट प्रेरित देखिन्छ ।
यता सक्कली सुकुम्बासीको पीडा भन्दा नक्कली सुकुम्बासीको तुजुक मानिसहरुलाई असहय हुँदै गएको थियो । डोजर चल्नुपूर्व सुकुम्बासी भनिएकासँग ठाउँठाउँमा जग्गा रहेको भन्ने विवरण सामाजिक संजालमा छ्यालब्याल पारियो । भलै, ति विवरण सक्कली थिए वा नक्कली फ्याक्ट चेक सायदै कसैले गर्यो । गाउँमा पटके सुकुम्बासीको जगजगी बढेकै थियो । पछिल्लो समय गाउँको जमिन्दारभन्दा शहरका सुकुम्बासी धनी हुँदै गएका थिए । लालपूर्जा हात परेका दिन शहरका सुकुम्बासी करोडपति हुन्थे । कतिसम्म भने तलव दिएर टहरा कुर्न राख्ने, भाडा लगाएर टहरा ओगटी रहने धन्दा पनि चलिरहेकै थियो । विष्णु पौडेलदेखि प्रदीप ज्ञवालीजस्ता दिग्गजलेसमेत सुकुम्बासीका नाममा जग्गा लिएको खबर बाहिरिएपछि सुकुम्बासीको राजनीतिकरणबारे समाज बेखबर थिएन । बरु नक्कली सुकुम्बासीका अतिरञ्जित कथा सुनेर समाज मुर्मुरिएको थियो ।
समाजको मनोविज्ञान र सुकुम्बासीका तर्फबाट भएको कमजोर प्रतिरोधका कारण बालेन–प्रशासन उत्साहित भएको देखिन्छ । अघिपछि विधिसम्मत परिचालित हुने सेनापनि विवेक सम्मत सुकुम्वासीवस्ति खाली गर्न खटिएको हो कि जस्तो देखिएको छ ।
बालेन काठमाडौँमा मात्र सीमित रहन्छन् वा देशभरै अभियान चाल्छन् ? छिनोफानो हुन बाँकी ठाउँमा मात्र सीमित हुन्छन् वा विगतमा वितरण गरिएका लालपूर्जाको पनि पुनःमूल्यांकन गर्छन् ? यि प्रश्नमा सुकुम्बासी सन्दर्भको आयातन निर्भर रहनेछ । यदि विगतमा वितरण गरेका लालपूर्जाको पुनःमूल्यांकन गर्ने मनस्थितिमा बालेन पुगे भने पनि अचम्म नमान्दा हुन्छ । सुकुम्बासीका नाममा बाउको सम्पत्ति चर्चिएको ग्राउण्ड रियालिटीबाट गाइडेड मनोविज्ञान देखिएको जो छ । जो जहाँ पुगेपनि बाल्यकालको भोगाइ र वर्गीय दृष्टिकोणले उसका निर्णयलाई प्रभावित गरिरहन्छ ।
