एफबीआईका पूर्वप्रमुख कोमीद्वारा आत्मसमर्पण

बीबीसी । एफबीआई पूर्व निर्देशक जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्पको ज्यानलाई खतरा पुर्याएको आरोपमा अधिकारीसमक्ष आत्मसमर्पण गरेका छन्।

सन् २०२५ मा इन्स्टाग्राममा गरिएको एक पोस्टका कारण यो मुद्दा दर्ता भएको हो। उक्त पोस्टमा समुद्रकिनारमा सिपहरू मिलाएर ‘८६ ४७’ लेखिएको तस्वीर थियो। अभियोजन पक्षले यो शब्दले ‘हटाउनु’ भन्ने संकेत गर्ने भएकाले यसले ट्रम्पविरुद्ध हिंसा उक्साएको आशय देखाएको दाबी गरेका छन् ।

कोमीले भने आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएका छन्। उनले उक्त अंकहरूको अर्थ आफूलाई थाहा नभएको र मुद्दा राजनीतिक उद्देश्यले प्रेरित रहेको दाबी गरेका छन्।

यो कोमीविरुद्ध दर्ता गरेको दोस्रो आपराधिक मुद्दा हो। उनी लामो समयदेखि ट्रम्पका आलोचकका रूपमा चिनिन्छन् । भर्जिनियाँस्थित अदालतमा भएको छोटो सुनुवाइका क्रममा कोमीले कुनै प्रतिक्रिया दिएनन् र दोष स्वीकार पनि गरेनन् । उनका वकिलले चयनात्मक तथा प्रतिशोधात्मक अभियोजन भएको दाबी गर्दै मुद्दा खारेजको माग गर्ने बताएका छन् ।

न्यायाधीश विलियमले आरोपहरू पढेर सुनाएका थिए। उनले कोमीलाई रिहा गर्दा कुनै विशेष सर्त आवश्यक नरहेको ठहर गर्दै अमेरिकी न्याय विभागको प्रस्ताव अस्वीकार गरेका छन् ।

अभियोजन पक्षले कोमीमाथि राष्ट्रपति विरुद्ध ज्यान लिने तथा शारीरिक क्षति पुर्याउने धम्की दिएको र अन्तरराज्यीय सञ्चारमार्फत त्यस्तो सन्देश प्रसारण गरेको आरोप लगाएको छ। प्रत्येक आरोपमा अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *