काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा आज नेपाल र ओमान भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे शुरू हुनेछ ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । पहिलो खेलमा युएईलाई ३७ रनले हराएको नेपाल आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । यता ओमान भने पहिलो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो ।
हाल ओमान २५ खेलबाट २९ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने २१ खेलबाट १४ अंक जोडेको नेपाल सातौँ स्थानमा रहेको छ ।
हालसम्म दुई टोली एकदिवसीयमा आठपटक आमने सामने भएका छन् । जसमा ५ खेल ओमानले जित्दा नेपालले तीन खेल आफ्नो पक्षमा पारेको छ । घरेलु मैदान टियुमा तीन खेल हुँदा नेपालले एक र ओमानले दुई खेल जितेको छ ।
पछिल्लोपटक ओमान र नेपालको विश्वकप लिग-२ अन्तर्गतनै सेप्टेम्बर २०२४ मा भेट भएको थियो । जसमा ओमान एक विकेटले विजयी भएको थियो ।
