दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

घोराही (दाङ) । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले पहिलो पटक लमही नगरपालिका-५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते उत्सव हुने भएको हो ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौँस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा लाटोकोसेरो उत्सव हुन थालेको हो । किसानको साथीका रूपमा चिनिने लाटोकोसेरोको संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले दाङमा पहिलो पटक उत्सवको आयोजना गरिएको प्रकृतिका साथी संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । उनका अनुसार पछिल्लो समय लाटोकोसेरोको अवैध व्यापार र चोरीसिकारी बढ्दै जाँदा यसको अस्तित्व सङ्कटमा परेको छ ।

लाटोकोसेरोसँगै समग्र चरा तथा वन्यजन्तु संरक्षणको सन्देश पु¥याउने, स्थानीय समुदायलाई वातावरणप्रति जिम्मेवार बनाउने र जैविक विविधताको महत्वबारे जानकारी गराउने उद्देश्यले यसअघि धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङलगायत जिल्लामा यो उत्सव गरिएको संस्थाका निर्देशक आचार्यले बताए ।

उत्सवले लाटोकोसेरोसम्बन्धी स्थानीय नागरिकलाई ज्ञानसँगै संरक्षणमा सहयोग पु¥याउने अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजालले बताए । ठूला र बूढा रुखको कटानी, परम्परागत घर संरचनाको कमी तथा आधुनिक निर्माण शैलीका कारण यसले सुरक्षित बासस्थान पाउन कठिन भएको उनको भनाइ छ ।

दुई दिनसम्म सञ्चालन हुने उत्सवमा विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गरिने छन् । पहिलो दिन चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम, रोबोट प्रदर्शनी तथा श्रव्यदृश्य सामग्रीको प्रस्तुति राखिन छ । दोस्रो दिन संरक्षण, संस्कृति र लाटोकोसेरोसँग सम्बन्धित सामग्रीको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । यसका साथै स्थानीय थारू, मगर, गुरुङ, कुमाललगायत समुदायका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल प्रतियोगिता आयोजना गरिनेछ ।

उत्सवलाई थप आकर्षक बनाउन नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोटसमेत प्रदर्शन गरिने तयारी गरिएको छ । कानुनी रूपमा लाटोकोसेरोको सिकार वा किनबेच गर्न पाइँदैन । यदि कसैले यस्तो गरेमा रु २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

नेपालमा तराईदेखि हिमालसम्म लाटोकोसेरो पाइने भए पनि यसको यकीन सङ्ख्या उपलब्ध छैन । विश्वभर २३ प्रकारका लाटोकोसेरो पाइने अभिलेख छ भने नेपालमा करिब ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति लोपोन्मुख अवस्थामा रहेका वन उपभोक्ता समूहका अध्यक्ष रिजालले जानकारी दिए ।

सोअवसरमा स्थानीय संरक्षण पुरस्कारअन्तर्गत रासस दाङ फोटो पत्रकार कुलदीप न्यौपाने र कालिका सामुदायिक वन उपभोक्ता समूह राप्ती गाउँपालिका-२ देउखुरीलाई सम्मान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *