बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हत्या प्रयास गरेको आरोपमा क्यालिफोर्नियाका एक व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको छ । उक्त घटनापछि ह्वाइट हाउसको सुरक्षा व्यवस्थामाथि पुनरावलोकन सुरु गरिएको छ ।
३१ वर्षीय कोल टोमस एलेन सोमबार अदालतमा उपस्थित हुँदा उनीमाथि हत्या प्रयाससँगै दुईवटा हतियारसम्बन्धी कसुर पनि लगाइएको छ। उनले आरोपबारे कुनै प्रतिक्रिया दिएका छैनन् । अभियोजन पक्षका अनुसार शनिबार डिनरका क्रममा उनले सुरक्षा जाँच पार गर्दै अर्ध–स्वचालित पेस्तोल, पम्प–एक्सन सटगन र तीनवटा चक्कु बोकेका थिए ।
घटनाका क्रममा अमेरिकी राज्य सुरक्षा सेवाका एक अधिकारी घाइते भए पनि गम्भीर चोट लागेको छैन । दोषी ठहरिएमा संदिग्धलाई आजीवन कारावास सजाय हुन सक्नेछ । अदालतमा उनी निलो पोशाकमा शान्त देखिएका थिए। उनले न्यायाधीशका अधिकांश प्रश्नको जवाफ ‘हो, मान्यवर’ वा ‘होइन, मान्यवर’ भन्दै दिएका थिए।
घटनापछि राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, मन्त्रिपरिषद्का सदस्यहरू तथा अन्य अधिकारीहरूलाई वाशिङ्टन हिल्टन होटलबाट सुरक्षित स्थानमा सारिएको थियो।
कार्यवाहक महान्यायाधिवक्ताले पत्रकार सम्मेलनमा एक अधिकारीको छातीमा गोली लागेको भएपनि बुलेटप्रुफ भेस्टका कारण ज्यान जोगिएको जानकारी दिए। घाइते अधिकारीले जवाफी कारबाहीमा गोली चलाउँदा संदिग्ध नियन्त्रणमा आएको उनले बताए ।
संघीय अभियोजकका अनुसार संदिग्धले हमलाअघि परिवारलाई पठाएको सन्देशमा उच्च पदस्थ सरकारी अधिकारीहरूलाई लक्षित गर्ने योजना उल्लेख गरेको पाइएको छ। अदालतमा पेश गरिएको विवरणअनुसार संदिग्धले ट्रम्पमाथि हमला गर्न विभिन्न राज्य पार गर्दै यात्रा गरेका थिए। उनी लस एन्जलस क्षेत्रबाट शिकागो हुँदै वाशिङ्टन पुगेका थिए । संदिग्धलाई बिहीबार पुनः अदालतमा उपस्थित गराइनेछ।
