ल्हासास्थित महावाणिज्य दूतावासमा भृकुटीको प्रतिमा अनावरण

ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा सातौँ शताब्दीकी नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । शनिबार प्रतिमाको महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले अनावरण गरेका हुन् । उक्त प्रतिमा जेभी फाण्डेशन नेपालको सौजन्यमा उपलब्ध गराइएको हो । यसअघि प्रतिमा काठमाडौंमा फाउण्डेसनका केन्द्रीय अध्यक्ष जगदीश बैद्यले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई हस्तान्तरण गरेका थिए ।

अनावरण कार्यक्रममा ल्हासास्थित नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिमा उपलब्ध गराउने संस्था तथा प्रतिमा ल्हासासम्म पुर्याउन र महावाणिज्यदूतावासमा स्थापना गर्न सहयोग गर्ने नेपाली दुः ख निवारण कल्याण कोषलगायतका व्यक्तित्वलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा महावाणिज्यदूत निरौलाले भृकुटीले तिब्बती राजा स्रङ्चङ्गम्पोसँग विवाह गरी नेपाल चीन सम्बन्ध स्थापना र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले चीनमा बौद्ध धर्मको प्रचारप्रसार तथा ल्हासाको योजनाबद्ध विकासमा समेत भृकुटीको भूमिका उल्लेखनीय रहेको उल्लेख गरे।

कार्यक्रममा नेपाली दुःख निवारण कल्याण कोषका अध्यक्ष कुञ्जो धार्के नेपाली तथा जेभी फाउण्डेसन नेपालका पदाधिकारीहरूले पनि मन्तव्य व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *