रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस भएको आक्रमण प्रयासका आरोपित व्यक्तिलाई ‘अत्यन्तै बिरामी व्यक्ति’ भएको बताएका छन्। उनले संदिग्धबारे परिवारका सदस्यहरूले नै पहिल्यै कानून कार्यान्वयन निकायलाई जानकारी गराएको पनि उल्लेख गरे ।
शनिबार राति आयोजित कार्यक्रममा आक्रमण प्रयास गरेको आरोप लागेका ३१ वर्षीय कोल टोमस एलेन क्यालिफोर्नियाको टोरेन्स निवासी रहेको अधिकारीहरूले जनाएका छन्। ट्रम्पका अनुसार एलेनले ‘ख्रीष्टियनविरोधी’ घोषणापत्र लेखेका थिए।
ट्रम्पले भने, ‘उनी पहिले ख्रीष्टियन आस्थावान् थिए, पछि ख्रीष्टियनविरोधी बने। उनको व्यवहारमा ठूलो परिवर्तन आएको थियो।’
कानून कार्यान्वयन अधिकारीहरूका अनुसार एलेनले आफूलाई ‘फ्रेन्ड्ली फेडेरल असासिन’ भन्दै ट्रम्प प्रशासनका उच्चदेखि निम्न तहका अधिकारीहरूमाथि आक्रमण गर्ने योजना बनाएका थिए। तर कास पटेललाई भने लक्षित सूचीबाट बाहिर राखिएको थियो।
घोषणापत्रमा उनले प्रशासनका नीतिबाट प्रभावित व्यक्तिहरूको संरक्षण गर्न खोजेको दाबी गर्दै धार्मिक तर्क प्रस्तुत गरेका छन् । उक्त दस्तावेज आक्रमणअघि नै परिवारका सदस्यहरूलाई पठाइएको बताइएको छ।
यस घटनाले उच्चस्तरीय अमेरिकी अधिकारीहरूको सुरक्षाबारे नयाँ चिन्ता उत्पन्न गरेको छ। राष्ट्रपति ट्रम्पले भने यस्ता कार्यक्रमका लागि ह्वाइट हाउसमा निर्माण गर्न लागिएको नयाँ हल अझ सुरक्षित हुने दाबी गरेका छन्।
