इजरायल–लेबनन युद्धविराम तीन साताका लागि थप

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लेबननमा थप तीन साताका लागि युद्धविरामलाई निरन्तरता दिइने बताएका छन् ।

इजरायलले इरानको समर्थन पाएको हिज्बुल्लाह समूहविरुद्ध सैन्य कारबाही गर्दै आएको लेबननमा पहिलो चरणको युद्धविरामको समयावधि आइतवार सकिन लागेको थियो ।

वाशिङ्टनमा इजरायली र लेबननी अधिकारीहरूले दोस्रो चरणका वार्ताे गरेपछि राष्ट्रपति ट्रम्पले युद्धविरामको अवधि लम्ब्याउन लागिएको घोषणा गरेका हुन् । इजरायली सेनाले दक्षिण लेबननका भूभागमाथि नियन्त्रण कायम गरेको भन्दै हिज्बुल्लाहले उक्त बैठकप्रति विमति जनाएको थियो ।

वार्ता आरम्भ भएको केही समयअघि मात्रै उसले आफूले उत्तरी इजरायलमा रकेट हमला गरेको बताएको थियो । ओभल अफिसमा बोल्दै राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि सहभागी भएको बैठक ‘राम्रोसँग अघि बढेको’ बताए ।

एउटा ‘ज्यादै ऐतिहासिक बैठक’मा भाग लिन पाउनु ‘ठूलो गर्व’को विषय भएको भन्दै ट्रम्पले इजरायलका प्रधानमन्त्री र लेबननका राष्ट्रपतिलाई ह्वाइट हाउसमा निम्त्याउने घोषणा गरे ।

राष्ट्रपति ट्रम्पले भने, ‘संयुक्त राज्य अमेरिकाले हिज्बुल्लाहबाट लेबननलाई जोगाउनका लागि उक्त देशसँग मिलेर काम गर्ने छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *