कांग्रेसको संविधान संशोधन सुझाव समितिद्वारा काम सुरु

काठमाडौँ । नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन थापा, महामन्त्री प्रदिप पौडेल, सहमहामन्त्रीद्धय उदयशमसेर राणा र योगेन्द्र चौधरी समेत सहभागी भएका थिए ।

बैठकमा पार्टी सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराएका थिए । संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रमममा केही प्रावधानहरु संशोधनको आवश्यकता महसुस गरिएको सभापति थापाको भनाई थियो । लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतिलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उनले सुझाव दिएका थिए ।

समितिले सुरुमा संविधानको सूक्ष्म अध्ययन गरि संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग वृहत छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति बनाएर समितिमा काँग्रेसको समेत प्रतिनिधित्वका लागि अनुरोध गरिरहेका बेला काँग्रेसले पनि गृहकार्य सुरु गरेको हो ।

सरकारले बनाएको समितिमा पार्टीको तर्फबाट प्रतिनिधि पठाउने बारेमा कुनै निर्णय नभएको सदस्य सचिव कटुवालले जानकारी दिए ।
उनका अनुसार सरकारले शुक्रबार सम्ममा प्रतिनिधिको नाम पठाउन अनुरोध गरेको छ भने यस समितिको अर्को बैठक आगामी बिहीबार बस्ने तय गरिएको छ ।

कांग्रेसले बनाएको समितिको सदस्यहरुमा वरिष्ठ अधिवक्ता तथा संविधानविद्हरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम वहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरवहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितवहादुर बस्नेत, अधिवक्ताहरु रनवहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *