काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर भइरहेको सन्दर्भमा संविधानले परिकल्पना गरेको समाजवादोउन्मुख अर्थतन्त्र निर्माणका दिशामा लाग्न आग्रह गरेकी छन् ।
शान्ति, अहिंसा, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पुुर्याउने व्यक्तित्वलाई राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित सम्मान समारोहमा राष्ट्रपतिले सादा जीवन उच्च विचारका धनी महेन्द्रनारायण निधिले अगाँल्नुभएको निष्ठाको राजनीति सबैका लागि स्मरणीय रहेको उल्लेख गरिन् ।
निधि प्रतिष्ठाको योगदानको खाँचो औल्याउँदै राष्ट्रपति भण्डारीले भनिन्, “निधिको निष्ठापूर्ण जीवन आर्दशको अनुसरण गर्ने भावना हामी सबैमा रहोेस् ।” जनताको हकअधिकार स्थापना गर्न सधैँ अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गरेका महेन्द्रनारायण निधिले प्राप्त प्रजातन्त्र र नागरिक अधिकारको संरक्षण एवं सम्वद्र्धनमा आफूलाई जीवनभर समर्पित गरेको बताइन् ।
राष्ट्रपति भण्डारीले भनिन्, “विचारअनुसारको व्यवहार र वचनअनुसारको कर्मका विशिष्ट उदाहरणका रूपमा रहनु भएका निधिबाट आजका र भावी पुस्ताले शिक्षा लिनुपर्छ ।” राष्ट्रिय एकता एवं सामाजिक सद्भाव र सहिष्णुताको भावनालाई मजबुत बनाउन स्व निधिले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिका सधैँ उल्लेखनीय रहिरहने भन्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय दृष्टिकोण बोक्नुभएका निधि आम नेपालीको नेता भएको बताइन् ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति एवं निधि प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्र निधिले जनताको अपनत्व नभएसम्म परिवर्तनले स्थायित्व नपाउने भएकाले अहिलेको राजनीतिक विवादको निकास संसद्बाटै खोज्ने प्रयास गर्नुपर्ने बताए । उनले शान्ति र अहिंसाभित्र लोकतन्त्र र मानव अधिकारलगायतका विषय समेटिने भएकाले जनताका बीचमा गएर स्व निधिले विभेद्विरुद्ध र समानताको पक्षमा काम गर्नुभएको योगदान सबैका लागि अनुकरणीय रहेको बताए ।
