उत्तर कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण

सियोल । उत्तर कोरियाले आइतबारको क्षेप्यास्त्र परीक्षणमा क्लस्टर हतियार प्रयोग गरिएको उत्तर कोरियाले सोमबार पुष्टि गरेको छ । आणविक हतियार सम्पन्न उक्त देशले छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्दै आफ्नो नयाँ वारहेड क्षमताको परीक्षण गरेको जनाएको हो । कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार नेता किम जोङ उनको प्रत्यक्ष निगरानीमा गरिएको यो परीक्षणमा ‘रणनीतिक ब्यालेस्टिक मिसाइलमा प्रयोग हुने क्लस्टर बम वारहेड र खण्डित माइन वारहेडको विशेषता र शक्तिको परीक्षण’ गरिएको थियो ।

परीक्षण आइतबार सम्पन्न भएको बताइएको छ । उत्तर कोरियाले पछिल्ला हप्ताहरूमा ब्यालेस्टिक मिसाइल, एन्टी–वारसिप क्रुज मिसाइल तथा क्लस्टर हतियार प्रणालीसहित विभिन्न सैन्य परीक्षणहरू गर्दै आएको छ । यसले क्षेत्रीय सुरक्षा अवस्था थप तनावपूर्ण बनाएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ । दुवै कोरियाले सन् २००८ को क्लस्टर बमसम्बन्धी ओस्लो महासन्धिमा हस्ताक्षर नगरेको अवस्थामा यो परीक्षण भएको हो ।

दक्षिण कोरियाले भने उत्तरको पछिल्लो गतिविधिलाई ‘उक्साहटपूर्ण’ भन्दै तत्काल रोक्न आग्रह गरेको छ । केसीएनएका अनुसार परीक्षणमा ह्वासोङपो–११ए सतहदेखि सतहमा प्रहार गर्न सकिने सामरिक ब्यालेस्टिक मिसाइल प्रयोग गरिएको थियो । पाँचवटा मिसाइल करिब १३६ किलोमिटर टाढाको टापु नजिकको लक्ष्य क्षेत्रमा प्रहार गरिएको र त्यसले १२.५ देखि १३ हेक्टर क्षेत्रफलमा अत्यधिक घनत्वका विस्फोट प्रभाव देखाएको जनाइएको छ ।

रिपोर्टअनुसार नेता किम जोङ उनले परीक्षणको नतिजाप्रति ‘गहिरो सन्तुष्टि’ व्यक्त गरेका छन् । उनले क्लस्टर वारहेड विकासले निश्चित लक्ष्य क्षेत्रमा उच्च घनत्वको प्रहार क्षमता र उच्च परिशुद्धता वृद्धि गर्ने बताए । विशेषज्ञहरूको विश्लेषणमा यो प्रणालीले बहु रकेट लन्चर र छोटो दूरीका ब्यालेस्टिक मिसाइलबीचको प्राविधिक दूरी घटाउने उद्देश्य राखेको देखिन्छ । कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका अनुसन्धानकर्ता होङ मिनका अनुसार यस्तो क्षमताले सियोल र अमेरिकी सैन्य अड्डाहरू उत्तर कोरियाको दायराभित्र अझ नजिक ल्याउन सक्छ ।

सियोल विश्वविद्यालयका प्राध्यापक याङ मू–जिनका अनुसार पछिल्ला परीक्षणहरूले उत्तर कोरियाले अगाडिको मोर्चाबाट प्रत्यक्ष प्रक्षेपण गर्न सकिने प्रणाली परिचालनको नजिक पुगेको सङ्केत गर्छ । यसले दक्षिण कोरिया र अमेरिकी अड्डाहरूमा तत्काल खतरा बढाउन सक्ने उहाँको मूल्याङ्कन छ । संयुक्त राज्य अमेरिकाले दक्षिण कोरियामा करिब २८ हजार सैनिक तैनाथ गरेको छ, जसले क्षेत्रीय सुरक्षा संरचनामा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

यसैबीच, दक्षिण कोरियाले आइतबार उत्तर कोरियाको सिन्पो क्षेत्रबाट धेरै छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको पुष्टि गरेको छ । सियोलले अमेरिकासँग ‘दृढ संयुक्त रक्षा स्थिति’ कायम रहेको बताउँदै कुनै पनि उक्साहटको कडा जवाफ दिने चेतावनी दिएको छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियालाई लगातार क्षेप्यास्त्र परीक्षण रोक्न आग्रह गर्दै यसले क्षेत्रीय तनाव बढाइरहेको जनाएको छ । साथै, शान्ति स्थापना प्रयासमा सहभागी हुन पनि आग्रह गरिएको छ ।

विश्लेषकहरूका अनुसार पछिल्ला परीक्षणहरूले उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्ने प्रयासलाई अस्वीकार गरेको सङ्केत गर्छ । केही महिनाअघि ड्रोनसम्बन्धी विवादपछि सम्बन्ध थप चिसिएको उल्लेख गरिएको छ । उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरूबीच लगातार हतियार विकास जारी राखेको छ । यसले ब्यालेस्टिक मिसाइल प्रविधि र आणविक कार्यक्रमसम्बन्धी प्रतिबन्धहरू बारम्बार उल्लङ्घन गर्दै आएको छ । यसअघि अप्रिल महिनामा किम जोङ उनले नौसेनाको युद्धपोतबाट प्रक्षेपण गरिएको क्रुज मिसाइल परीक्षणको निरीक्षण गरेका थिए ।

सो परीक्षण चो ह्योन नामक पाँच हजार टन वर्गको युद्धपोत जहाजबाट गरिएको थियो, जुन गत वर्ष सञ्चालनमा आएको हो । उत्तर कोरियाले थप दुईवटा त्यस्तै वर्गका युद्धपोत निर्माण गरिरहेको छ । साथै, रूससँगको सैन्य सहकार्य बढ्दै गएको भन्दै विश्लेषकहरूले प्योङयाङले नौसैनिक आधुनिकीकरणलाई तीव्र बनाएको बताएका छन् । रिपोर्टअनुसार उत्तर कोरियाले युक्रेन युद्धमा रूसलाई समर्थन गर्न स्थल सेना र तोपखाना सहयोग पठाएको छ भने बदलामा मस्कोबाट सैन्य प्रविधि सहयोग प्राप्त गरिरहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *