बीबीसी । इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकासँग जारी वार्तामा केही प्रगति भएको स्वीकार गरे पनि अन्तिम सहमतिबाट अझै टाढा रहेको बताएका छन् ।
गालिबाफ, जो इरानका प्रमुख वार्ताकारमध्ये एक हुन् । उनी गत साता पाकिस्तानमा अमेरिकी प्रतिनिधिमण्डलसँग शान्ति वार्तामा सहभागी भएका थिए । उनले अमेरिकाको नाकाबन्दीलाई ‘गलत’ भन्दै जुनसुकै बेला परिस्थिति बिग्रन सक्ने र त्यसका लागि इरानी सेना पूर्ण रूपमा तयार रहेको बताए ।
उनले होर्मुजमा बारुदी सुरुङ हटाउने काम गरिए त्यसलाई युद्धविरामको उल्लङ्घन मानिने र कडा जवाफ दिइने चेतावनी दिए । वार्ताको अर्को चरण कहिले हुने भन्नेबारे भने अहिलेसम्म कुनै मिति तय गरिएको छैन।
यसैबीच, ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘धेरै राम्रो संवाद’ भइरहेको बताएका छन्। तर, उनले होर्मुज जलडमरूमध्यको विषयलाई लिएर तेहरानले अमेरिकालाई ‘ब्ल्याकमेल’ गर्न नदिने स्पष्ट पारे ।
ट्रम्पले इरानको व्यवहारलाई विगत ४७ वर्षदेखि जस्तै ‘अलि चालाकीपूर्ण’ रहेको टिप्पणी गरेका छन् । यसअघि उनले इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नाकाबन्दी ‘इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न नभएसम्म’ जारी रहने बताएका थिए।
