गुल्मीमा सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।

यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुंगाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए ।

उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुंगा-काठमाडाैंको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए । नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडाैंबाट रेसुंगाका लागि १० हजार ९०२ र रेसुंगाबाट काठमाडाैंका लागि १० हजार ७०२ निर्धारण गरिएको उनले जानकारी दिए ।

निगमले यसअघि काठमाडाैंबाट रेसुंगाका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडाैंका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको थियो । विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुंगा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा तीन हजार ४०२ मूल्य वृद्धि गरिएको स्टेसन प्रमुख थापाले जानकारी दिए ।

उनका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ । वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुंगा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ ।

नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडाैं-रेसुंगा सेवा सञ्चालन हुँदै आएको छ । काठमाडाैंबाट आइतबार बिहान ८ः०५ बजे र रेसुंगाबाट बिहान ९ः०५ बजे र मंगलबार, बिहीबार र शनिबार काठमाडाैंबाट बिहान ६ः१५ बजे र रेसुंगा विमानस्थलबाट काठमाडाैंका लागि बिहान ७ः१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए ।

दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ । गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।

करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन् । सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ । गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *