फूर दिकी शेर्पा सबैभन्दा छिटो समयमा ल्होत्से हिमाल आरोहणको तयारीमा

काठमाडौं । आरोही फूर दिकी शेर्पा सन् २०२६ को वसन्त ऋतुमा विश्वको चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर) सबैभन्दा छोटो समयमा आरोहण गर्ने तयारीमा छिन् । उनी सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो एकल महिला मध्ये एक हुन् ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शेर्पाले ल्होत्सेको बेस क्याम्पबाट शिखरसम्म पुगेर पुनः बेस क्याम्प फर्किने गरी २४ घण्टाभित्र आरोहण सम्पन्न गर्ने लक्ष्य राखेको बताइन्।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु (डेभिड) शेर्पाले नेपाल हिमालहरूले भरिएको देश भएको उल्लेख गर्दै हामीले विश्वलाई सिकाउनुपर्ने भए पनि अझै अरू देशबाट सिक्नुपर्ने अवस्था रहेको बताए।

‘नेपालमा केही छैन, सम्भावना छैन् भन्ने धारणा छ, तर वास्तवमा यहाँ धेरै सम्भावनाहरू छन्,’ उनले भने। उनले फुर दिकी शेर्पाको अभियान सफलताको कामना समेत व्यक्त गरे।

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले देशको नाम उँचो बनाउन र विश्वभर चिनाउन शेर्पा समुदायको मुख्य भूमिका रहेको बताए। फुर दिकी शेर्पा सधैं सक्रिय रहँदै महिलालाई प्रेरणा दिन निरन्तर लागिरहेको उल्लेख गर्दै उनले भने, ‘एक दिन शेर्पा समुदायले मात्र होइन, विश्वले नै गर्व गर्ने अवस्था आउँछ।’

उनले नेपालमै बसेर काम गर्नुपर्नेमा जोड दिँदै सबैजना विदेश गइरहेमा समुदायको प्रगति रोकिने बताए। उनले फुर दिकी शेर्पालाई शुभकामना पनि दिए।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले सगरमाथा आरोहण गरिसकेकी फुर दिकी शेर्पाले अब ल्होत्से हिमाल आरोहण गर्ने तयारी गरिरहेकामा सफलताको शुभकामना व्यक्त गरे।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तर्फबाट एकल महिलाहरूको हकहित र सहयोगका लागि आवश्यक पहल गरिने पनि उनले बताए।

वरिष्ठ पर्यटन व्यवसायी तथा एशियन ट्रेकिङ प्रालिका अध्यक्ष आङ छिरिङ शेर्पाले पनि फुर दिकी शेर्पाको अभियान सफलताको कामना व्यक्त गरे।

५१ वर्षीया शेर्पाले यो अभियान आफ्ना स्वर्गीय बुबा आङ ङिमा शेर्पा र उनका निकट मित्र इमान सिंह गुरुङको सम्झनामा समर्पित गरेको बताइन् ।

‘मेरो बुबाको ल्होत्से चढ्ने सपना थियो, जुन पूरा हुन सकेन। त्यसैले म उहाँको सपना पूरा गर्न ल्होत्से आरोहण गर्न लागेकी हुँ,’ उनले भनिन् । उनले आफ्नो बुबा र इमान गुरुङको तस्बिर शिखरसम्म लैजाने पनि जानकारी दिइन्।

उनका बुबा आङ ङिमा शेर्पा वरिष्ठ आइसफल डाक्टर पनि थिए। शेर्पाले आफ्नो अभियानमार्फत विश्वभरका महिलालाई जीवनका कठिन परिस्थितिहरू पार गर्दै आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्ने उद्देश्य रहेको बताइन् ।

‘यदि मैले यो उमेरमा यस्तो लक्ष्य हासिल गर्न सक्छु भने अन्य महिलाहरूले पनि आफ्नो सपना पूरा गर्न सक्छन् भन्ने सन्देश दिन चाहन्छु,’ उनले भनिन्।

फूर दिकी शेर्पाले आगामी अप्रिल २२ तारिख काठमाडौंबाट लुक्लातर्फ प्रस्थान गर्ने तालिका रहेको जानकारी दिइन्। शेर्पाले सन् २०१९ मे २३ तारिखका दिन नीमा डोमा शेर्पासँगै सगरमाथा सफलतापूर्वक आरोहण गरेकी थिइन्। उनीहरू सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो एकल (विधवा) महिला हुन्।

सोलुखुम्बुको डिंगबोचे निवासी उनले हालसम्म सगरमाथा, अमादब्लम, हिमलुङ हिमाल, आइल्याण्ड पिक (२ पटक), लोबुचे पिक (८ पटक), मेरा पिक, चुलु फार इस्ट, पोकलदे, पाल्दोर पिक आरोहण गरिसकेकी छन्।

हिमलुङ हिमाल र पाल्दोर पिकमा भने उनले महिला टोलीको नेतृत्व गर्दै सफल आरोहण सम्पन्न गरेकी थिइन्।

प्रशिक्षणतर्फ उनले खुम्बु क्लाइम्बिङ सेन्टर (केसीसी) बाट बेसिक, एड्भान्स तथा डबल एड्भान्स तालिम लिएकी छन्। साथै, नेपाल पर्वतारोहण संघ (एनएमए) बाट बेसिक, रक क्लाइम्बिङ लेभल–१ तथा उच्च हिमाली उद्धार (एचएमआरटी) तालिमसमेत प्राप्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *