काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन साहलाई बधाई दिएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएका उनले बालेनलाई बधाई दिँदै नेपालसँग सर्वाङ्गीण सम्बन्ध विस्तार गर्न आफ्नो देश तयार रहेको बताएका हुन् ।
बधाई सन्देशमा उनले इरानले विगत छ दशकदेखि नेपालसँग कायम मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्व दिँदै आएको उल्लेख गरेका छन् । उनले उक्त सम्बन्ध सधैं आपसी सम्मान र साझा हितमा आधारित रहेको बताएका छन् । पेजेश्कियनले आर्थिक, व्यापार, ऊर्जा, पर्यटन, कृषि तथा शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्न इरान इच्छुक रहेको पनि स्पष्ट पारेका छन् ।
उनले नवनियुक्त प्रधानमन्त्री साहको सफल कार्यकालको कामना गर्दै नेपाली जनताका लागि प्रगति र समृद्धिको शुभेच्छा व्यक्त गरेका छन् । साथै, साहको कार्यकारी तथा राजनीतिक अनुभवले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन र सहकार्यका नयाँ आयाम खोल्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन् ।
