वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई सैन्य सहयोग गरे अमेरिका भित्रिने चिनियाँ सामानमा नयाँ कर लगाउने चेतावनी आइतबार दिएका छन् ।
फक्स न्यूजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स विथ मारिया बार्टिरोमो’ मा ट्रम्पले भने, ‘यदि हामीले उनीहरूलाई त्यसो गरेको देख्यौँ वा पायौँ भने उनीहरूले ५० प्रतिशत थप भन्सार महसुलको सामना गर्नुपर्नेछ।’
इरानविरुद्धको युद्धका कारण आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तामा ढिलाइ भएको तर आफू अर्को महिना बेइजिङ जाने अमेरिकी राष्ट्रपति ट्रम्पले बताए ।
चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको हवाला दिंदै केही सञ्चारमाध्यमले समाचार लेखेका छन्। चीनले केही विमान खसाल्न मिल्ने रकेटसहित ‘एयर डिफेन्स’मा प्रयोग हुने हतियार केही हप्तामै इरान पुग्ने गरी पठाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
यसबारे अमेरिकी समाचार संस्था सिएनएनले ट्रम्पलाई सोधेको थियो। राष्ट्रपति ट्रम्पले भने, ‘चीनले त्यसो गर्न लागेको हो भने चीनका लागि त्यो ठूलो समस्या हुनेछ ।’ अमेरिका र इजराइलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेका थिए ।
केही दिन अघि अमेरिका र इरानबीच दुई हप्ते युद्धविराम भएको थियो। युद्धको स्थायी अन्त्य गर्न अमेरिका र इरानबीच पाकिस्तानमा शनिबार भएको वार्ता निष्कर्षविहीन भएको छ। शनिबार दिउँसोदेखि आइतबार बिहान ५ बजेसम्म चलेको वार्ता निष्कर्षविहीन भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्।
