चीनले सन् २०३५ भित्र देशभरिको रेलमार्ग २ लाख किलोमिटर पुर्याउने योजना सार्वजनिक गरेको छ।
चीनमा अहिले हाइस्पिड रेल नेटवर्क ३८ हजार किलोमिटर छ। १५ वर्षमा त्यसलाई बढाएर ७० हजार किलोमिटर बनाइने छ। त्यस्तै अहिलेसम्म चीनमा सबैखालका रेल नेटवर्कको लम्बाइ १ लाख ४६ हजार किलोमिटर रहेकोमा त्यसलाई बढाएर २ लाख किलोमिटर बनाइने छ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी र चिनियाँ मन्त्रिपरिषद्ले बुधबार संयुक्त रूपमा सार्वजनिक गरेको सन् २०३५ सम्म अर्थतन्त्रलाई दोब्बर बनाउने खाकामा उक्त कुरा उल्लेख गरिएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले गत नोभेम्बरमा सन् २०३५ सम्म चिनियाँ अर्थतन्त्र दोब्बर बनाउने कुरा पूर्ण रूपले सम्भव रहेको बताएका थिए।
रेलवेसँगै ४ लाख ६० हजार किलोमिटर सडक सञ्जाल र २५ हजार किलोमिटर इनल्याण्ड वाटरवे बनाउने योजना पनि चीनले सार्वजनिक गरेको छ। १५ वर्षमा चीनले थप १६२ वटा विमानस्थल बनाएर विमानस्थलको संख्या ४०० पुर्याउने लक्ष्य राखेको छ।
कोरोनाभाइरसको महामारीपछि विश्वका अरू विकसित अर्थतन्त्रले लयमा फर्किन संघर्ष गरिरहेका बेला चिनियाँ अर्थतन्त्रमा भएको वृद्धिले उसको यो योजना सम्भव देखिएको अर्थशास्त्रीहरूले बताएका छन्।
