रूसी आक्रमणबाट कीभमा २७ जनाको मृत्यु, ९१ घाइते

किभ । रूसले युक्रेनको राजधानी कीभमा सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् । यसवर्ष कीभमाथि भएको यो सबैभन्दा घातक आक्रमण भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणका कारण राजधानीभर करिब १३० वटा भवनमा क्षति पुगेको छ।

रातभर भएका लगातार विस्फोटपछि हजारौं सर्वसाधारण बंकर र भूमिगत मेट्रो स्टेशनमा आश्रय लिन बाध्य भएका थिए । राजधानीको सैन्य प्रशासन प्रमुख तिमुर ट्काचेन्कोका अनुसार उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएपछि मृतक संख्या २७ पुगेको हो। उद्धार टोलीले भग्नावशेष हटाउँदै फसेकाहरूको खोजी गरिरहेकाले मृतक संख्या अझ बढ्न सक्ने उनले बताएका छन् ।

उनका अनुसार ड्निप्रो नदीको बायाँ किनारस्थित राजधानीको पूर्वी क्षेत्रमा रहेको एक आवासीय क्षेत्रमा पाँच जनाको शव फेला परेको छ भने आठ जना अझै बेपत्ता छन्।पाँचौं वर्षमा प्रवेश गरेको रूस–युक्रेन युद्धका क्रममा राजधानी कीभमा यस स्तरको क्षति विरलै देखिएको छ। यसअघि मे महिनामा भएको आक्रमणमा २४ जनाको मृत्यु भएको थियो।

आयरल्यान्ड भ्रमण छोट्याएर स्वदेश फर्किएका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणबाट आधा ध्वस्त भएको नौतले आवासीय भवनको निरीक्षण गरेका छन्। उनले सहयोगी राष्ट्रहरूले प्रतिबद्धताअनुसार समयमै हवाई प्रतिरक्षा प्रणाली उपलब्ध नगराउँदा क्षति बढेको आरोप लगाए ।

जेलेन्स्कीले साझेदार राष्ट्रहरूले गरेको प्रतिबद्धता कार्यान्वयन भए थप जनधनको क्षति रोक्न सकिने बताएका छन्। उनले आगामी साता टर्कीमा हुने नेटो शिखर सम्मेलनमा हवाई प्रतिरक्षा प्रणाली प्रमुख एजेन्डामध्ये एक रहने र युरोपेली हवाई प्रतिरक्षा सुदृढ बनाउन पुनः आग्रह गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *