प्रधानमन्त्रीले राजदूतलाई एक्लै भेटेर राष्ट्रियता कमजोर हुने या सामूहिक भेटेर बलियो हुने हो ?

नारायण गाउँले ।

प्रधानमन्त्रीले राजदूतलाई एक्लै भेटेर राष्ट्रियता कमजोर हुने या सामूहिक भेटेर बलियो हुने होइन । यसरी एकै ठाउँमा गरिने सामान्य शिष्टाचार भेट राम्रो हो र यसको कूटनैतिक सन्देश पनि हुन्छ । तर, हरेक देशसँग हाम्रो सम्बन्ध र मुद्दा अलग अलग हुन्छ । भारतसँग द्विपक्षीय व्यापार, सीमा, सीमासुरक्षा र उसले सहयोग गर्ने भनेका प्रोजेक्टजस्ता मुद्दा होलान्, अमेरिकासँगका मुद्दा अलग छन् । चीन, यूएई र पाकिस्तानको राजदूत सँगै राखेर छलफल गर्ने हाम्रा राष्ट्रिय इश्यु के नै होलान् र । इजरायल र बङ्गलादेशसँग हाम्रा आवश्यकता उस्तै हुँदैनन् । परिणाममुखी इन्गेजमेंट र भेटघाट त एकलाएक्लै नै हुने हो । राजदूत भेट्नै नहुने, भेट्दिन भन्यो भने राष्ट्रवादी भइने या एकै ठाउँमा भेटेर ठूलो उपलब्धि हुने भन्ने होइन ।

कूटनीतिका आफ्नै भाषा, सङ्केत, सन्देश र प्रोटोकल होलान् । तर सबैभन्दा माथि नेशनल इन्ट्रेस्ट हुन्छ । व्यावहारिकता र सल्टाउनै पर्ने मुद्दाहरू प्राथमिकतामा पर्छन् । हाम्रो आफ्नो स्वार्थ र व्यावहारिकताका कारण भारत, चीन, बङ्गलादेश, अमेरिका र बेलायतजस्ता देशसँग जति गहिरो संवाद आवश्यक हुन्छ, त्यही स्तरको संवाद फ्रान्स या श्रीलङ्कासँग नहुन सक्छ । अन्तर्राष्ट्रिय मुद्दामा बहुपक्षीय कूटनीति आवश्यक होला, तर राष्ट्रिय मुद्दामा कूटनीति भनेको मूलतः द्विपक्षीय नै हो । हो, लिपुलेकजस्तो मुद्दामा भारत र चीनका राजदूत सँगै राखेर भेट्न सकिए त्यो उपलब्धिमूलक हुन सक्छ तर सीमा मुद्दामा पनि धेरै देशले तेस्रो पक्षको भूमिका मन पराउन्नन् ।

कतिपय अवस्थामा प्रोटोकलको लक्ष्मणरेखा तोडेर पनि विश्वभर भेटवार्ता र छलफल हुन्छन् । समकक्षताभन्दा माथि पनि अनौपचारिक संवाद हुन्छन् । राजदूत भनेको द्विपक्षीय संवादकै लागि हो । भेट्न र सम्बन्ध विस्तार गर्नकै लागि हो । सजाएर राख्न होइन । तिनले आफ्नो देशको स्वार्थ माथि राखेर सम्बन्ध विस्तार गर्न खोज्ने हो, हामीले हाम्रै स्वार्थ अगाडि राख्ने हो । राजदूतसँग भेट भएका तस्बिर देख्यो कि बिक्यो भन्ने भाष्य हामीले बनाउँदै आएको चाहिँ सत्य हो । अस्वाभाविक, अमर्यादित र एक्सक्लुसिभ पहुँच नदिनु ठीक हो, तर भेटेर देशलाई घाटानाफा केही हुने होइन । भेटेर छोराछोरीलाई छात्रवृत्ति माग्ने कामचाहिँ गलत र घातक हो ।

भारत र चीनसँग हाम्रा धेरै आउटस्ट्यान्डिङ मुद्दाहरू छन् । त्यसको समाधानका लागि राजदूतको तहदेखि उच्च राजनैतिक तहसम्म बारम्बार भेटवार्ता र संवाद आवश्यक छ । प्रोटोकल अनुसारका औपचारिक र व्यावहारिकता अनुसारका अनौपचारिक दुबै खाले इन्गेजमेन्ट जरूरी हुन सक्छ ।

भोलि बालेनले एक्लै राजदूत भेटेको फोटो हालेर दलाल भन्नेहरू र हिजो देउवा या ओलीले भेटेका फोटा हालेर दलाल भन्नेहरू उस्तै हुन् । देशको मुद्दा नसल्टियोस् भन्नेहरू हुन् । भोट हालेर जसलाई जिताइन्छ, उसैले भेटघाट र समस्या समाधानको पहल गर्ने हो, तपाईं र मैले होइन । तर सबैभन्दा ठूलो कुराचाहिँ प्रधानमन्त्रीले राजदूत भेटेको जस्तो सामान्य विषय पनि नेशनल इस्यु बन्नु नै हो । यस्तो नियमित र शिष्टाचार भेटघाटलाई समेत ग्लोरिफाइ गर्ने या आलोचना गर्ने फुर्सत संसारमा हामीजस्ता अल्पविकसित देशलाई मात्रै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *