काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेका श्रम तथा रोजगारको क्षेत्रलाई व्यवस्थित, मर्यादित एवंम सुरक्षित बनाउन तत्काल कार्ययोजना बनाई कायान्वयन गर्न निर्देशन दिएका छन् ।
मन्त्रिपरिद्को चैत १३ गते बसेको बैठकले स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमाथि छलफल गरी मन्त्री साहले श्रमसँग सम्बन्धित विषय कार्ययोजना तयार गर्न निर्देशन दिएका हुन् । श्रम स्वीकृतिमा रहेको ‘टोकन’ प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न निर्देशन भएअनुसार मन्त्रालयले आजैदेखि कार्य सुरु गरेको छ ।
त्यस्तै, पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य सामग्री निर्माण गरी ‘डिजिटल’ माध्यममा उपलब्ध हुने व्यवस्था गर्न, पूर्व प्रस्थान अभिमुखीकरण तालिम (प्रि डिपार्चर ओरेन्टेसन ट्रेनिङ, पिडिओटी)लाई पूर्ण रुपमा अनलाइन प्रणालीमा आधारित बनाउन, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गर्न अभियान सञ्चालन गर्न तथा श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्न मन्त्री साहले निर्देशन दिएका छन् ।
यस्तै मन्त्री साहले श्रमाधान योजनालाई आन्तरिकीकरण गर्दै श्रमाधान कल सेन्टरलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन, औद्योगिक प्रतिष्ठानहरुमा जोखिम मूल्याङ्कन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा (अकोपेन्सनल हेल्थ एन्ड सेफ्टी—प्रवद्र्धन गर्न, उत्पादन र उद्यमशीलता प्रवद्र्धन गरी आन्तरिक रोजगारी सिर्जना गर्न, थप पाँच मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्न तथा मन्त्रालयसँग सम्बन्धित कानुनहरुमा समसामयिक सुधारका अन्तरवस्तुहरु पहिचान गरी प्रक्रिया अगाडि बढाउने गरी १० कार्ययोजना तय गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
