-सुवोधराज प्याकुरेल ।
यो सरकारप्रति ठूलो आशा र भरोसा उदाएको थियो । आशा थियो, कानुनको शासनको परिपालन । भरोसा थियो दम्भ अहंकारबाट मुक्ति । यो संविधान खारेज गरिदिउँ कि नगरौँ, भनेर अलमलमा परेको अभिव्यक्ति दिने सुदनलाई गृहमन्त्री बनाएपछि पहिलो संत्रास देशले अनुभूति गरेको थियो । केपी ओली र रमेश लेखक भागी नासी जाने पात्र थिएनन् । दुबैजना बुवा आमाको आसौच बारिरहेको अवस्थामा छन् । शपथ लिएको रात दौडादौड गर्दै, जबरजस्ती भा’नभा उजुरी बटुल्दै गृह मन्त्रालयको ठाडो आदेशमा उहाँहरुलाई पक्राउ गर्नुले लोकतन्त्रमा मन्त्री बाहेक सम्पूर्ण निकायको अस्तित्व नामेट पारिएको प्रमाणित हुन्छ ।
प्रत्यक्ष प्रमाणको ठोस आधार बेगर गरिएको यो कारबाहीले गृहमन्त्री सनक आवेग र शक्तिको दम्भमा चल्छन् भन्ने प्रमाणित गरेको छ । र दुःखद कुरा के छ भने प्रधानमन्त्री स्वयम् उनलाई नियन्त्रित गर्नसक्ने अवस्थामा छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीको लोकतन्त्र कानुनको शासन प्रतिको प्रतिबद्धता उपर कठिन प्रश्न पदबहालीकै दिनबाट लाग्न गएको छ । यो परिस्थिति सिङ्गो देशको लागि घातक छ । विश्वमा खतरनाक अधिनायकवादी निरंकुशताको उदय मतदानमार्फत भएको इतिहास छ ।
दण्डहीनताको संस्कृतिलाई समूल नष्ट गर्नुपर्छ । तर कुनै व्यक्ति विशेषले कुनै भावुकतामा बगेको भरमा होइन । आधार प्रमाण र त्यसको कानुनी प्रकृयामा मानवीय संवेदनाको पूर्णपरिपालना सहित गरिएको हुनुपर्छ । हामीले संवेदनशीलताको विकल्पमा जङ्गबहादुरको हुकुमी शासन खोजेको होइन । नागरिक उपर शासन होइन, नागरिकको सेवा गर्ने सरकारको खोजीमा तड्पिएका जनताले नयाँ सरकारलाई पूर्ण विश्वास गरेका हुन् । त्यसको अर्थ आफ्नो मौलिक मर्यादा एकथान मन्त्री वा एउटा सरकारमा समर्पण गरेका होइनन् । चेतना भया।
