-सुवोधराज प्याकुरेल ।
अहिलेको एमालेको सचिवालय स्थायी समिति वा केन्द्रीय समिति सबकासब अध्यक्षमा समर्पितहरुको जमात हो । पन्थको हिसाबले भक्त हुन् । कर्मको हिसाबले आस्थावानको जमात हुन् आस्था अर्थात् त्यस्तो अवस्था जहाँ प्रश्न जिज्ञासा वा आधारको खोजी हुँदैन । हुन्छ त केवल समर्पण, आँखा जुधाएर होइन कि निहुरिएर, अर्थात पाउमा समर्पण। हुनुपर्ने हो विश्वास । विश्वासमा वैज्ञानिक आधार हुन्छ । तर्क वितर्क पछि स्थापित सत्य हुन्छ । अथवा विपरीत तर्कहरु भविष्यको लागि ससम्मान अभिलेखिकरण गरिन्छ । सम्पूर्ण समर्पण केवल एकजना अध्यक्षमा थुपारेपछि अब उहाँ बाहेक अर्को कसैले नेकी वदीको जिम्मा लिनै परेन । मैले त भनेकै हो भनेर पानी मुनीको ओभानो बन्न पाइयो ।
अध्यक्षको झन् कुरै भएन । भक्तहरु समर्पित भए । उहाँ दङ्गदास भइरहनु भयो। कमजोरी वा अझ परिस्करणको सुझाव नआएपछि उहाँलाई लाग्दै गयो कि उहाँ नै सर्वज्ञ हुनुहुन्छ । आफू र आफ्नो पार्टी मात्र कहाँ हो र नेपाली कांग्रेसको समेत सुरक्षाकर्ता मै हुँ भन्ने आभाष उहाँलाई भयो । उहाँलाई लाग्यो, जे हो अङ्क मात्र हो । संसदवाद त्यही हो । त्यसैले संविधान संशोधनको वाचा गरेका काँग्रेस –एमाले गठबन्धनको मूख्य हाकिमी जवाफ दिनुभयो, माथिल्लो सदनमा दुई तिहाई पुर्याएर मात्रै संविधान संशोधनको कुरा गरिनेछ।
सानो टपरटुइयाँ समूहले बटुल्ने हुलले दिनको २० घण्टा घेरेको घेरै गरेपछि न अनुभव काम लाग्यो न स्वअध्ययन न विवेक । जजसले आलोचनात्मक चेत राखे ती सबैलाई वहिष्कृत गर्ने, फरक आवाज निकाल्न खोज्यो कि तँलाई नोटिसमा राखेको छुँ भन्दै धम्क्याउने र प्रतिष्पर्धी हुन्छ कि भन्ने लाग्नासाथ कारबाही गरेर किनाराकृत गर्ने इञ्चार्ज पद ओगटेका नालायक निरंकुशहरु अझै पदमा विराजमान छन् । आफै बोक्सी आफैँ धामीले गर्छन् के ? कि सबै दोष केपीको टाउकोमा खन्याउँछन् कि फेरि केपीको आड लागेर जतिन्जेल सकिएला इज्जत बिनाको दर्जा जोगाउँछन् ।
पहिले सबै कमिटी भङ्ग गरिदिनुपर्छ । र जगैदेखि पुनर्गठनको प्रकृया आरम्भ गर्नुपर्छ। अर्को उपाय एमालेसँग छैन । एमालेका ७५ प्रतिशत सदस्य विचारको हिसाबले समाजवादी होइनन् । साधारण सदस्य त ९० प्रतिशत होइनन् । जति ठूलो दर्जा त्यति ठूला गफाडी हुन् । सच्चिएका बाहेकलाई न एमाले न कतै राजनीति गर्ने नैतिक अधिकार पनि छैन ।
