पर्यटक भिसामा रहेका विदेशीलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन एन्फालाई अध्यगमनको पत्र

काठमाडौं । अध्यागमन विभागले पर्यटक भिसामा रहेका विदेशीहरुलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन दिएको छ ।

विभागले बिहीबार एन्फालाई पत्र पठाउँदै पर्यटक भिसामा नेपालमा रहेका विदेशी खेलाडीलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन निर्देशन दिएको हो ।

एन्फा मातहत सञ्चालन भइरहेको राष्ट्रिय महिला तथा पुरुष लिग फुटबलमा केही क्लबहरूले पर्यटक भिसामा आएका विभिन्न देशका खेलाडीलाई समावेश गरेको भन्दै विभागमा उजुरी परेको थियो ।

पत्रमा भनिएको छ, ‘अध्यागमन नियमावली, २०५१ को नियम २० मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सो बाहेक अन्य काम गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था रहेको व्यहोरा विदितै छ। त्यस संघबाट सञ्चालन भएको राष्ट्रिय महिला/पुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लवहरुले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरुलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजूरी यस विभागमा प्राप्त हुन आएको छ। तसर्थः कुनै पनि खेलमा विदेशी खेलाडीहरुलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुहुन अनुरोध छ। सो सम्बन्धमा यस विभागबाट आजैदेखि अनुगमन प्रारम्भ भएको हुँदा स्वीकृति नलिएका विदेशी खेलाडीहरु भिसाको उद्देश्य विपरित कुनै पनि खेलमा सहभागी भएको पाईएमा तत्काल कार्वाही अगाडि बढाईने व्यहोरा निर्णयानुसार जानकारी गराइन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *