कार्की आयोगको अयोग्यता र पूर्वाग्रह उजागर भइरहेको छः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनका नाममा बाहिर आएको कुराले आयोगको अयोग्यता र पूर्वाग्रहलाई उजागर गरेको बताएका छन् ।

सामाजिक संजालमार्फत पोखरेलले पूर्वाग्रह र प्रतिशोध नभई, तथ्य र प्रमाण अनुसन्धानका आधार भएका बताएका हुन् । उनले भनेका छन्, ‘कार्की आयोगको प्रतिवेदनका नाममा जे कुरा बाहिर आइरहेका छन् त्यसले आयोगका सदस्यको अयोग्यता र पूर्वाग्रहलाई उजागर गरिरहेको छ । पूर्वाग्रह र प्रतिशोध होइन, तथ्य र प्रमाण अनुसन्धानका आधार हुन्।’

सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले गत फागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । एमालेले सुरुदेखि आयोगका अध्यक्ष कार्कीमाथि प्रश्न उठाइरहेको छ । आयोगले एकपक्षीय रुपमा प्रतिवेदन बनाएको भन्दै आलोचनासमेत भइरहेको छ । प्रतिवेदन सार्वजनिक गर्न माग गरिएपनि सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र तत्कालीन आईजीपी चन्द्रकुबेर खाँपुङविरुद्ध फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरिएको कुरा बाहिर आएको छ । त्यस्तै आयोगले भदौ २३ गतेकाबारेमा अनुसन्धान गरेको तर २४ भदौकाबारेमा भने मौन रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *