अबको एमाले ‘बन्द कोठा’ को षड्यन्त्र वा केही सीमित व्यक्तिको ‘क्याल्कुलेसन’बाट चल्दैनः सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीमा राखेको ‘नोट अफ डिसेन्ट’ एउटा कुनामा मात्र सीमित गरिएकाले सामाजिक संजालमार्फत धारणा सार्वजनिक गर्न बाध्य भएको बताएका छन् ।

मंगलबार राति सामाजिक संजालमार्फत पाण्डेले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्दा वेवास्ता गरिएकाले आफूहरुले सामाजिक संजालमार्फत धारणा राखेको बताएका हुन् ।

उनले भनेका छन्, ‘पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा?’ यो जायज प्रश्न हो। हामीले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्यौँ र गल्तीहरू औंल्यायौँ। ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो ‘नोट अफ डिसेन्ट’ को एउटा कुनामा मात्र सीमित गरियो। जब बैठक सुन्ने र सुध्रिने थलो होइन, केवल सुनाउने र ‘हुकुम’ दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ।’

उनले अबको एमाले बन्द कोठाको षड्यन्त्रबाट नचल्ने बताए । उनले भनेका छन्, ‘अबको एमाले’ बन्द कोठा’ को षड्यन्त्र वा केही सीमित व्यक्तिको क्याल्कुलेसनबाट होइन, आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिबाट चल्नुपर्छ।’

निर्वाचनमा पार्टीको लज्जास्पद हार भएपछि पाण्डे पछिल्लो समय सामाजिक संजालमार्फत नेतृत्वप्रति आक्रोश पोख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *