थिति बसाल्ने पार्टीको संकल्प जसरी पनि पूरा गर्नुपर्छः उपसभापति वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले जनताले दिएको अभूतपूर्व जिम्मेवारीलाई रास्वपाले पूरा गर्नुपर्ने बताएका छन् । मंगलबार पार्टीका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उपसभापति वाग्लेले नेपाली जनतामा विकासको हुटहुटी रहेकाले त्यसलाई बहाना बनाउने छुट नभएको बताएका हुन् ।

उनले यो ऐतिहासिक जिम्मेवारीप्रति सजग हुनुपर्ने बताए । उनले अब काम गरेर देखाउनुपर्ने बताए । उनले थिति बसाल्ने पार्टीको संकल्प जसरी पनि पूरा गर्नुपर्ने बताए ।

उनले भने, ‘प्रणाली बसाल्नुपर्ने छ । बरालिएको, लथालिंग, भताभुंग अर्थराजनीतिलाई सम्हालुनपर्नेछ । नेपाली जनताले त्यो सम्हाल्नुपर्ने गरी पठाएको छ । अब नो एक्सक्युज, नो इफ नो बटको स्थिति छ । काम गरेरै देखाउनुपर्छ । ऐतिहासिक जिम्मेवारीबोध पुरा गर्नैपर्छ ।’

उनले पुरानाले गरेनन् भनेर नयाँको रूपमा आफूहरूलाई जनताले यसपटक काम गर्ने म्यान्डेट दिएको बताए । उनले यसअघि २०४८, २०६४ र २०७४ मा बलियो म्यान्डेट पाएका सरकार पनि आन्तरिक किचलोले काम गर्न नसकेको बताए ।

उनले पार्टीलाई प्राप्त ऐतिहासिक जनमतलाई न्याय गर्ने जिम्मेवारीबोध हुनुपर्ने बताए । सांसदहरूको मूल काम कानुन निर्माण गर्ने भन्दै उपसभापति वाग्लेले एउटा पार्टीको सरकार गठन भएपनि सांसदले प्रश्न उठाउनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो मूल काम कानुन बनाउने र सरकारको कामको समीक्षा, अनुगमन, निगरानी गर्ने हो । हाम्रै एकमना सरकार हुँदा पनि औँला उठाउनुपर्छ । आफ्ना निर्वाचन क्षेत्रका मुद्दाहरूलाई बुलन्द ढंगले उठाउनुपर्ने हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *