काठमाडौँ । महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दीककुमार केसी र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माकाबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।
क्यान्सरको सम्भावना समयमा थाहा पाउन सकियो भने व्यक्तिलाई बचाउन सकिन्छ । क्यान्सर नसर्ने रोगको पहिलो समस्या हो । यसकारण महानगरपालिकाले क्यान्सर नियन्त्रणका लागि परीक्षण र प्रारम्भिक उपचारका लागि सहकार्य गरेको हो ।
त्यस अवसरमा कार्यवाहक प्रमुख डंगोलले, कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेशा व्यवसायमा काम गर्ने महिलाहरुलाई पनि परीक्षण गराउन सहज पर्ने समय तालिका मिलाउन र धेरै समय कुर्न नपर्ने व्यवस्थापन गर्न निर्देशन दिइन् । सेवा सरल, सहज र पहुँच योग्य बनाउन, अपाङ्गता भएका महिलाहरुका लागि विशेष व्यवस्था गर्न उनले आग्रह गरिन् ।
उनले भनिन्, ‘क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि हो । यसका विषयमा भएका भ्रम र असजिला पक्षहरुका विषयमा पर्याप्त जानकारी प्रवाह गर्नुहोला । सबै महिलाको पहुँचमा विस्तार गर्न सकिने गरी परीक्षण गराउने प्रबन्ध मिलाउनुहोला ।’
त्यसक्रममा अस्पतालका निर्देशक प्रा. डा. शर्माले गएको वर्षको सिकाइबाट यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना गरिएको बताए ।
स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह हुन् । परीक्षण चैत १६ गतेदेखि सुरु हुनेछ । हरेक दिन १ सय जनादेखि १२० जनासम्मको परीक्षण गर्ने गरी योजना कार्यान्वयन गरिनेछ ।
कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ । यो स्लिपमा उल्लेख भएको मिति र समयमा अस्पताल जानुपर्छ ।
परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डीएनए पिसिआर -ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।
