काठमाडौं । प्रहरीले काठमाडौंको भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई एक करोड १६ लाख नगदसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोही ठाउँका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन् । अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता पवनकुमार भट्टाईले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक थान–३, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक थान –३, विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको एटीएम कार्ड थान–४, नागरिकता थान–१, चार पाङ्ग्रे सावरी साधन–२ र दुई पाङ्ग्रे सवारी साधन एउटा बरामद गरेको छ ।
त्यस्तै, सवारी दर्ता किताब थान– ३, विभिन्न कम्पनीको मोबाइल फोन थान– ६, एनसेल र एनटीसीको सीमकार्ड थान– ३१, कम्प्युटर सेट– १ र बाइनान्स खातामा रहेको रकम सात हजार १७५ .३४ अमेरिकी डलर पनि प्रहरीले बरामद गरेको छ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
