काठमाडौं । जेनजी आन्दोलनमा हायत होटल तोडफोड तथा प्राईड क्यासिनो लुटपाट र आगजनीमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका ८ घर भइ काठमाडौंको बौद्ध बस्ने ३७ वर्षीय कुले भन्ने कुलध्वज लामा र काभ्रेको रोसी गाउँपालिका ४ घर भइ जिल्ला बौद्ध बस्ने ३७ वर्षीय कोरियन भन्ने राकेश लामा रहेका छन् ।
उनीहरुले भदौ २४ गते बौद्धमा रहेको हायत होटल तोडफोड गरि उक्त होटल भित्र रहेको प्राईड क्यासिनो लुटपाट र आगजनी गरेका थिए । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा हिजो शनिवार बौद्धबाट नियन्त्रणमा लिएको परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।
कुले भन्ने कुलध्वज लामाविरुद्ध यसअघि पनि विभिन्न मितिमा केही सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा ५ वटा मुद्दा दर्ता भएको एसपी भट्टराईले जानकारी दिए । त्यस्तै राकेश लामाविरुद्ध यसअघि नै केही सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहार कसूरमा ७ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ ।
