काठमाडौँ । नेपाली कांग्रेसको मधेश प्रदेशका उपसभापति वीरेन्द्र सिंहले सर्लाही– ४ बाट कांग्रेस सभापति गगन थापालाई जिताउन नसकेपछि ठूलो अवसर गुमाउनुपरेको बताएका छन् ।
सामाजिक संजालमार्फत सिंहले सर्लाही ४ ले ठूलो अवसर गुमाएको बताएका हुन् । उनले भनेका छन्, ‘लोकतन्त्रमा जनताको मत नै सर्वोपरी हुन्छ । तपाईंहरुले जो– जसलाई मत दिनुभयो त्यसप्रति मेरो सम्मान छ । तर एक पटक सोच्नुस् त । सर्लाही ४ लाई समयले दिएको यति ठूलो अवसर हामीले गुमाउनु पर्यो । यो केवल एउटा क्षेत्रको मात्र विषय थिएन, समग्र मधेश र देशको केन्द्रको विषय थियो । यो परिवर्तन र विद्रोहको मानक थियो ।’
यस्तो छ सिंहको भनाई
सर्लाही क्षेत्र नम्बर ४ का आदरणीय आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू । नमस्कार, जय नेपाल । लोकतन्त्रमा जनताको मत नै सर्वोपरी हुन्छ। तपाईंहरुले जो –जसस्लाई मत दिनुभयो त्यसप्रति मेरो सम्मान छ।
तर एक पटक सोच्नुस् त …
सर्लाही ४ लाई समयले दिएको यति ठूलो अवसर हामीले गुमाउनु पर्यो । यो केवल एउटा क्षेत्रको मात्र बिषय थिएन, समग्र मधेस र देशको केन्द्रको बिषय थियो। यो परिवर्तन र बिद्रोहको मानक थियो । अवसर पटक पटक आउँदैन, आएको अवसरलाई क्षेत्रबासी तपाईँ हामीले सदुपयोग गर्न सक्नुपर्ने थियो तर दुर्भाग्यवश त्यो संम्भव भएन । अतः यसको भागिदार हामी नै हुनुपर्नेछ । ईतिहासले यसको समीक्षा गर्ने नै छ । विशेषगरी शिक्षा,स्वास्थ र कृषिमा पिछडिएको मधेसको यस ग्रामीण ठाउँमा एउटा आशाको ज्योति बाल्न आएको सुवर्ण अवसरलाई ठूलो भरोसा दिएर पठाउनुपर्ने थियो, बिडम्बना त्यो हुन सकेन।
आदरणीय क्षेत्रबासीहरु
हामिले बुझेनौ वा जनतालाई बुझाउन सकेनौ ? हामी झुक्कियौ वा जनतालाई फेरि झुक्याईयो ? यो गम्भीर प्रश्नले हरेकपल हामी सर्लाही ४ का क्षेत्रबासी सामु उत्तर खोजिरहने छ । असल मान्छे पहिचान गर्न नसक्नु तपाई हाम्रो कमजोरी नै रह्यो । यस्तो मौका पटक पटक आउदैन, हामी चुक्यौं । फेरि पनि जनताको भरोसा जित्न निरन्तर हाम्रो यात्रा जारी नै रहने छ । यस निर्वाचनको दौरानमा हामीलाई अहोरात्र साथ सहयोग गर्ने र शुभेच्छा राख्नुहुने तपाईहरु सम्पुर्णलाई हार्दिक कृतज्ञता सहित हृदयदेखि नै आभारी छौँ । धन्यवाद ।
