तनहुँमा रास्वपाको क्लिन स्विप

तनहुँ । प्रतिनिधि सभा निर्वाचनको तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले क्लिन स्विप गरेको छ । दुई क्षेत्र रहेको तनहुँमा रास्वपाका उम्मेदवार विजयी भएका हुन् ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले विजयी भएका हुन् । शनिबार सम्पन्न मतगणनाअनुसार ३८ हजार ४० मत प्राप्त गरी वाग्ले विजयी भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिएका हुन् ।

उनका अनुसार प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरे । यस्तै नेकपा (एमाले)का भगवती न्यौपानेले पाँच हजार आठ सय ३० मत र नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले दुई हजार तीन सय ९३ मत प्राप्त गरे ।

यस निर्वाचन क्षेत्रमा एक लाख २६ हजार आठ सय ८२ मतदाता रहेकामा ६८ हजार एक सय २९ मत खसेको थियो । डा वाग्ले तनहुँ क्षेत्र नम्बर १ मा दोस्रो पटक निर्वाचित भएका हुन् । विसं २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा डा. वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका थिए

यस्तै निर्वाचन अधिकृत भेषराज पौडेलका अनुसार तनहुँ क्षेत्र नं २ मा रास्वपाका श्रीराम न्यौपाने नेपाली कांग्रेसका शंखर भण्डारीलाई  १८ हजार ५५२ मतले पछाडि पार्दै निर्चाचित भएका हुन् । उनले ३२ हजार ६ सय ७८ मत प्राप्त गर्दा शंखर भण्डारीले १४ हजार १ सय ३५ मत  पाए । यस्तै, नेकपा (एमाले)का केदार सिग्देलले ११ हजार छ सय ६८ र नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापाले एक हजार नौ सय ५३ मत प्राप्त गर्न सफल भए । यस क्षेत्रमा कुल एक लाख २७ हजार ५१५ मतदाता रहेकामा ६३ हजार १८६ मत खसेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *